युरोपेली मुलुक माल्टामा भएको सडक दुर्घटनामा परी ज्यान गुमाएकी बर्दिबासकी गौरीकुमारी बरालको परिवारलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) माल्टाले आर्थिक सहयोग प्रदान गरेको छ।
एनआरएनए माल्टाले मृतकको शव नेपाल पठाउन तथा परिवारलाई आर्थिक राहत दिन ‘गो गेट फन्डिङ’ मार्फत सहयोग अभियान सञ्चालन गरेको थियो। संकलित रकमबाट शव नेपाल पठाइएपछि बाँकी रहेको १६ लाख ५७ हजार १ सय ४० रुपैयाँ मृतककी आमा तुलसा बरालको सिन्धुलीस्थित राष्ट्रिय वाणिज्य बैंक, भिमान शाखाको खातामा जम्मा गरिएको एनआरएनए माल्टाका अध्यक्ष रेम्स खनालले जानकारी दिए।
अध्यक्ष खनालले “विषम परिस्थितिमा पीडित परिवारलाई केही राहत मिलोस् भन्ने उद्देश्यले आर्थिक सहयोग गरिएको” बताएका छन्। साथै, “एउटा नेपालीको दुःखमा अर्को नेपालीले साथ दिनुपर्छ भन्ने भावना राखी सहयोग गर्ने सम्पूर्ण नेपाली समुदाय तथा संघसंस्थालाई” उनले आभार व्यक्त गरे।
२५ वर्षीया गौरीकुमारी बराल रोजगारीका लागि माल्टा गएकी थिइन्। तर, जनवरी ५ मा भएको सडक दुर्घटनामा गम्भीर घाइते भएकी उनी उपचारको क्रममा जनवरी ११ मा अस्पतालमा निधन भइन्। उनको शव जनवरी १८ मा पशुपतिमा अन्त्येष्टि गरियो।
गौरी बरालकी आमा तुलसा बराल र दाइ विमलकुमार बरालले गैरआवासीय नेपाली संघसहित प्रवासमा रहेका नेपालीहरूले दुःखको घडीमा देखाएको सहानुभूति र सहयोगप्रति गहिरो कृतज्ञता व्यक्त गरेका छन्।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com