गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् (NRNA-NCC) इजरायल र नेपाली राजदूतावास इजरायलको सहकार्यमा इजरायलको रनाना आसपासका दुई वटा फार्म हाउस भिजिटको लागि शुक्रबार (१९ जुलाइ २०२४) को दिन राजदूतावासको टिम र एनआरएनए- एनसीसी इजरायलका प्रतिनिधि गरी उक्त क्षेत्रमा अनुगमन भ्रमण जाने तय गरिएको जानकारी प्राप्त भएको छ ।
इजरायलको विभिन्न स्थानमा कार्यरत रहेका नेपालीहरूको अवस्थाको बारेमा जानकारी लिने क्रममा यो भ्रमण हुन लागेको हो । उक्त एरियामा कार्यरत नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले सम्बन्धित निकायका प्रतिनिधिसँग समय मिलाएर भेटघाट गर्न सक्नु हुनेछ । आफ्ना समस्या तथा कुनै पनि गुनासाहरू भएको खण्डमा नेपाली दूतावास इजरायल तथा गैर आवासीय नेपाली सङ्घका प्रतिनिधि भिजिट आएको बेला राख्न हुन समेत भ्रमण टोलीले अनुरोध गरेको छ ।
साथै सो क्षेत्रमा रहेका केयरगिभर सेक्टरमा कार्यरत नेपालीहरूको अवस्थाको बारेमा बुझ्न वृद्ध वृद्धा स्याहार केन्द्र (बेताबोद) भ्रमणको मिति भने अर्को दिन जानकारी दिइनेछ ।
इजरायलमा अधिकांश नेपाली कामदार केयरगिभर, सहायक नर्स र कृषि क्षेत्रमा कार्यरत छन् । लामो समयदेखि इजरायलमा युद्धको स्थिति बनेको छ । इजरायल र हमास अधीनस्थ गाजा बिच बढेको तनाव अहिलेसम्म साम्य हुन सकेको छैन । इजरायलले गाजामा निरन्तर कारबाही जारी राखेको छ भने हमास र हिज्बोल्लाका तर्फबाट पनि इजरायलमा रकेट आक्रमणका छिटपुट घटना भइरहेका छन् ।
गत वर्ष अक्टोबर ७ मा हमासको आतङ्ककारी हमलामा परी कृषिमा कार्यरत १० नेपाली विद्यार्थीको निधन भएको थियो भने एक जना विद्यार्थी विपिन जोशी अझै हमासको कब्जामा छन् ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com