प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी इजरायल महिला विभागले सेप्टेम्बर ६ तारिख शुक्रबार इजरायलको तेल अभिवमा नेपाली महिलाहरूको महान् पर्व हरितालिका तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रम मञ्चकी महिला विभाग प्रमुख जानुका चापागाईँको सभापतित्वमा र मञ्चका अध्यक्ष समीर प्रधानको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
उपाध्यक्ष मदन भट्टराई र स्कुल विभाग प्रमुख दीपेन्द्र कार्की विशिष्ट अतिथि रहनु भएको थियो ।
पानसमा दियो बालेर नेपाली राष्ट्रिय गान सँगै आरम्भ गरिएको कार्यक्रममा उपस्थितहरूले ज्ञात अज्ञात सहिदहरूको सम्झनामा मौन धारण गरे ।
कार्यक्रममा प्रवासी नेपाली मञ्च इजरायलकी सांस्कृतिक विभाग प्रमुख धना थापाले स्वगत मन्तव्य राख्नु भयो भने उप-सचिव सेविका आले, प्रचार तथा प्रकाशन विभाग प्रमुख इन्दिरा प्रसाईँ ( चुडाल ) लगायत अतिथि वक्ता धर्म प्रसाद बराल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
इजरायलमा रहेका नेपालीहरूबिच भाइचारा, सहयोग र ऐक्यबद्धता वृद्धि गर्दै एकताको सन्देश प्रवाह गर्ने उद्देश्यका साथ प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी महिला विभागले नेपाली महिलाहरूको महान् चाड हरितालिका तिजको शुभकामना आदानप्रदान कार्यक्रम’ आयोजना गरिएको हो ।
दिदिबहिनीहरुले साडी र दाजुभाइहरूले नेपाली ढाका टोपी लगाउँदै प्रवासमा रहँदा पनि आफ्नो देशको झल्को मेटाउने गरी रमाइलो नाचगान सहित आयोजित कार्यक्रममा मिठो स्वरकी धनी ऊष्मा राईले तिजको गीत गाएर उपस्थित सबैलाई नचाउनु भएको थियो ।
प्रवासी नेपाली मञ्च इजरायलका अध्यक्ष समीर प्रधानले राजनीतिमा इमानदारिताको खडेरी भएको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको सरकारले मातृभूमि नेपालको आर्थिक र सामाजिक क्षेत्रमा उल्लेख्य सुधार गर्ने कुरामा विश्वास व्यक्त गर्नुका साथै समृद्ध नेपाल निर्माणको लागी उहाँको कार्यकाल उपलब्धि मुलुक, सुनौलो र सफल रहोस् भन्ने कामना गर्नु भयो । यसै क्रममा उहाँले देशमा रोजगारको सृजना गरी हामी लाखौँ युवाहरू स्वदेश फर्कने वातावरण स्थिति बनोस् भन्ने कामना पनि व्यक्त गर्नु भयो ।
नयाँ सदस्यहरूलाई स्वागत गर्दै नेपाल कम्युनिस्ट पार्टीमा आस्था राख्ने इजरायलमा कार्यरत नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई मञ्चको सम्पर्कमा आएर सङ्गठित भई सङ्गठन विस्तारमा सहयोग गर्न समेत अपिल गर्नु भयो ।
नेपालीहरूमाथि आई पर्ने विभिन्न खालका समस्या समाधानमा पहलकदमी लिने, केही रचनात्मक, सृजनात्मक तथा मनोरञ्जनात्मक कामहरू गरी इजरायलमा रहेका सम्पूर्ण नेपालीको सुख र दुखको साथीका रूपमा इजरायलमा क्रियाशील हुन अनुरोध गर्नु भयो।
कार्यक्रमको सञ्चालन सङ्गठनकी सचिव मिना चुडालद्वारा गरिएको थियो । तिजको शुभ अवसरमा जोडिनु भएका नयाँ सदस्यहरूको आगमनले सङ्गठनले अझै उचाइ लिनेछ भन्ने आशा राख्दै सांस्कृतिक परम्परा अनुसार विभिन्न परिकार सहितको दर खाएर हरितालिका तिजको शुभकामना आदान प्रदान गरियो । कार्यक्रम इजरायलको तेल अभिभ नमालस्थित द स्पट होस्टेलमा सम्पन्न भएको थियो ।
स्मरण रहोस् – एमाले निकट प्रवासी नेपाली मञ्च इजरायलमा दुई अलग नेतृत्वमा क्रियाशील रहेको छ ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com