नेपाल इजरायल डट कम जेरुसलेम । इजरायलको जनसंख्या तथा अध्यागमन प्राधिकरण (पिवा) ले गोला प्रथामार्फत दुई हजार २०२ जना नेपाली केयरगिभर छनोट गरेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले परेका आवेदनहरूमाथि छानबिन गरिरहेका बेला इजरायलले बिहीबार ‘लक्की ड्र’ मार्फत २२०२ जनाको नाम छनौट गरेको हो । गोला प्रथाबाट छनौटमा परेका कुल २२०२ केयरगिभरमा ६० प्रतिशत महिला (११९६) र ४० प्रतिशत पुरुष (१००६) केयरगिभर गोलाप्रथाबाट चयन गरिएका छन्।
दीर्घकालीन सहायक कामदार, केयरगिभरको छनोट प्रक्रिया इजरायलको जनसंख्या तथा अध्यागमन प्राधिकरण (पिवा)को कार्यलय जेरुसेलम इजरायलमा सम्पन्न भएको थियो । छनोट गरिएका आवेदकहरुको सूची जनसंख्या तथा अध्यागमन प्राधिकरण (पिवा) द्वारा वैदेशिक रोजगार विभागमा पठाइएको थियो ।
काठमाडौँस्थित इजरायली दूतावासमा पिवाले गरेको लोटरी दूतावासमा प्रत्यक्ष प्रसारण गरिएको थियो । राजदूतसहित MoFA का प्रतिनिधिहरू र संचारकर्मीहरूले भर्चुअल रूपमा सहभागिता जनाएका थिए । तर जनसंख्या तथा अध्यागमन प्राधिकरणको सो ‘लक्की ड्र’मा तेलअभिभस्थित नेपाली दूतावासका प्रतिनिधि समेत सहभागी थिएनन् ।
वैदेशिक रोजगार विभागले नेमचेकका लागि तीन हजार ४६१ जनाको नाम पठाएको थियो । पीबाले ती नाममाथि आवश्यक छानबिन गर्दै ‘लक्की ड्र’ गरेको हो ।
विभागले आवेदकको नामावली इजरायल पठाए लगत्तै श्रम मन्त्रालयमा नक्कली कागजात पेस भएको भन्दै उजुरी परेको थियो ।
इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा काम गर्न सहायक कामदार (केयरगिभर) लागि आवेदन दिंदा केयरगिभर तालिम गरेको भन्दै नक्कली प्रमाणपत्र पेस भएको उजुरी परेपछि सरकारले छानबिन समिति गठन गरेको थियो ।
मन्त्रालयले कामदार छनोट प्रक्रियामा पेस भएका कागजातहरूको आधिकारिकता जाँच गर्नुका साथै समग्र छनोट प्रक्रियालाई विश्वसनीय र पारदर्शी बनाउन उपसचिव मेघनाथ रिमालको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गरेको थियो । हाल छानबिन जारी रहेको मन्त्रालयले जनाएको छ ।
सोही आधारमा विभागले आवेदन प्रक्रिया र छनौट प्रक्रिया अगाडि बढाएको थियो ।
त्यसका लागि चार हजार २४ जनाले आवेदन दिएका थिए । जसमा तीन हजार ४६१ जनाको आवेदन स्वीकृत भएको थियो । ५६३ आवेदन रद्द गरिएको थियो । रद्द गरिएका आवेदनहरूमाथि मन्त्रालयको छानबिन टोलीले छानबिन गरिरहेकै बेला इजरायलले ‘लक्की ड्र’ गरेको हो ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com