हामीले अखबारमा पढ्दै आएका छौँ कि इजरायलमा एकै पटक सयौँको सङ्ख्यामा क्षेप्यास्त्र प्रहार गरिए तर ती इजरायलको जमिनमा खस्न नपाउँदै आकाशमै ध्वस्त भए । यस्तो कसरी सम्भव छ ? आउनुस् एक पटक गहिरिएर चर्चा गरौँ ।
मानिसले बनाएका अग्ला भवनहरू मात्र होइन ठुला ठुला बलिया भौतिक संरचनाहरू र सिङ्गो सहर नै क्षणभरमै खरानी बनाउन सक्ने विस्फोटक बोकेर बिजुली चम्केको गतिमा प्रक्षेपण गरिएका यस्ता क्षेप्यास्त्रहरुले कतिसम्म जनधनको क्षति गर्न सक्छन् भन्ने हामी केवल कल्पना गर्न सक्छौँ । विध्वंसको उदाहरण स्वरूप गाजामा इजरायलले गरेको कारबाहीलाई हेरे पुग्छ । यथासम्भव कम मानवीय क्षति होस भन्ने उद्देश्यले हरेक पटक सर्व पूर्व सूचना दिएर सर्वसाधारणलाई सुरक्षित स्थानमा सर्न आग्रह गर्दै गरिएको आक्रमणमा पनि हजारौँ हताहत भएका छन् भने पुरै सहर खरानीमा परिणत भएको छ ।
यद्यपि इजरायल तर्फ भने मानसिक डर र त्रास उत्तिकै भए पनि भौतिक रूपमा यस्ता क्षेप्यास्त्रको असर नगण्य मात्रामा देखिएको छ । यसको यौटै कारण इजरायलले विकास गरेको क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली (Anti Missile Defence System) हो ।
रकेटको खेती
गत अक्टोबर ७ को दिन इस्लामिक अतिवादी सङ्गठन हमासले सयौँको सङ्ख्यामा लडाकुहरू अप्रत्याशित रूपमा इजरायल प्रवेश गरेर उत्सव मनाइरहेका सर्वसाधारणमाथि अन्धाधुन्ध आम संहार मात्रै गरेन एकै पटक हजारौँको सङ्ख्यामा इजरायलमा क्षेप्यास्त्र प्रहार गर्यो ।
स्थलगत रूपमा प्रवेश गरेका आतङ्ककारीले पुराएको क्षति बाहेक रकेटबाट भएको क्षति नगण्य थियो । पुरा विश्वलाई अन्याय, रोक, भोक र थिचोमिचोको कारुणिक कथा सुनाउने गाजामा यसरी हजारौँको सङ्ख्यामा रकेट कसरी उत्पादन भए ? जसको मूल्य लाखौँ डलरमा पर्न आउँछ ??
छोटकरीमा यति बुझौँ मध्यपूर्वका विभिन्न मुलुकमा अशान्ति मच्चाइरहेका आइएस्, अल नुस्रा, हुथी, हिजबोल्ला र हमास विद्रोही समूह यस्ता तत्त्वहरू हुन जसको उद्देश्य इस्लामिक अतिवादका माध्यमबाट सरकारमा आफ्नो प्रभुत्व कायम गर्नु हो । यसमध्ये यमनमा हुथी र प्यालेस्टाइनमा हमास सबैभन्दा बढी सफल मानिन्छन्।
गैर इस्लामिक राष्ट्र इजरायलको अस्तित्वलाई अस्वीकार र चर्को विरोध गरेर हमास प्यालेस्टाइनमा ठुलो राजनीतिक हिस्सा बन्न सफल मात्र भएको छैन गाजापट्टिमा पुरै शासन यसले कब्जा गरेको छ । इजरायलको कट्टर विरोध नै हमासको उदयको कारण हो अन्यथा प्यालेस्टाइनमै पनि अन्य थुप्रै सङ्गठनहरू छन् जो मध्यमार्गी छन्, जो इजरायल र प्यालेस्टाइन दुवैको अस्तित्व स्वीकार गर्छन् अनि देशमा समृद्धि र विकास चाहन्छन्।
यतिखेर प्यालेस्टाइनको हमाससँगै सिरिया र लेबनानमा परिचालित हिजबोल्ला गुरिल्ला समूह पनि इजरायलसँगको प्रत्यक्ष लडाइँमा होमिएका छन् । यी समूहहरू जो उत्तरतर्फ सिरिया र लेबनानबाट हिजबोल्ला, दक्षिणबाट हुथी र दक्षिण पूर्वबाट हमासले इजरायलको आकाशमा असिना जस्तै रकेटको वर्षा गराउँछन् । यसको संरक्षक र प्रायोजक इरान भएको इजरायलको दाबी छ । अक्टोबर ७ को आक्रमणको योजना नै इरानमा तय भएको प्रमाण इजरायलले प्राप्त गरेको बताएको छ ।
इरानलाई मध्यपूर्वमा इस्लामिक अतिवादीहरूको खेत खलियानमा रकेट उमार्ने र विनिमय गर्ने ठेकेदार भएको आरोप पश्चिमा राष्ट्र अमेरिका र इजरायलले लगाएका छन् । साउदी अरब, जोर्डन लगायतका मुस्लिम देशहरूको पनि यस्तै खाले बुझाई छ ।
शस्त्र र अस्त्र
आकाशमार्फत प्रहार गरिने महाशक्तिशाली गगन भेदी अस्त्रहरूको कल्पना हजारौँ वर्ष पुरानो महाभारतमै गरिएको थियो । पुराणमा वर्णित परिभाषा अनुसार जुन हतियारलाई सिधै हातले प्रहार नगरी मन्त्र, जल, अग्नि, वायु, विद्युतीय या यान्त्रिक उपायबाट सन्धान गर्न सकिन्छ त्यसलाई अस्त्र भनिन्छ जस्तै – आग्नेयास्त्र, पाशुपतास्त्र, गरुडास्त्र, सुदर्शन चक्र, नाग पाश आदि ।
कथाहरूका अनुसार यस्ता महाप्रलयकारी अस्त्रहरू कठिन तपस्या पश्चात् मात्र हासिल हुन्थे जसको उचित प्रयोग गर्न नजानेको खण्डमा प्रहार गर्नेले नै क्षति व्यहोर्नु पर्ने हुन्थ्यो । आजको युगमा आविष्कार भएका रकेट, मिसाइल, मानवरहित यानहरूलाई यसका उदाहरण मान्न सकिन्छ ।
यसको ठिक विपरीत शस्त्र भनेको भौतिक रूपमा हातले प्रयोग गरिने हतियारलाई भनिन्छ जस्तै खुकुरी, तरबार, भाला, गदा, बन्चरो आदि । अस्त्रको विनाशक क्षमता ठुलो परिमाणमा हुन्छ भने सोको तुलनामा शस्त्र को कम हुन्छ । तर आज युद्धमा प्रयोग गरिने शस्त्रहरू यति विकसित भइसके कि तिनको प्रयोगबाट एकै व्यक्तिले स्वचालित राइफलको प्रयोग गरी निमेषभरमै हजारौँ जनधनको क्षति पुर्याउन सक्छ ।
अश्वत्थामाले पाण्डवहरूमाथि प्रयोग गरेको ब्रह्मास्त्र लाई आजको परमाणु हतियारसँग तुलना गरिएको छ । परमाणु वैज्ञानिक जे रोवर्ट ओपनहाइमरले गीता र महाभारतको गहन अध्ययन गरेका थिए । उनले महाभारतमा उल्लेखित ब्रह्मास्त्रको संहारक क्षमतामा खोज गरेका थिए र आफ्नो मिसनलाई ट्रिनिटि (त्रिदेव) नाम दिएका थिए । विकास बेरोजगारी रोग भोकका मानवीय मुद्दाहरू एकातिर थपक्क पन्छाएर आजको विश्व हतियारको विनिमय र शस्त्र अस्त्रको होडबाजीमा यसरी लागेको छ कि कुनै दिन मानव निर्मित अस्त्रहरूबाट मानव अस्तित्व नै सङ्कटमा पर्ने निश्चित प्राय भैसकेको छ ।
फलामे टोपी – किपात बर्जेल
इजरायल यहुदी राज्य हो, यहाँ ७३ प्रतिशत यहुदीहरू छन् , यो जातिले पूजाआजा या कुनै पवित्र कार्य गर्दा टाउको छोप्ने चलन छ । महिलाहरू रुमालले छोप्ने या नक्कली कपाल लगाउँछन् भने पुरुषहरूले टाउकामा विशेष प्रकारको कचौरा आकारको टोपी लगाउँछन् जसलाई “किपा” भनिन्छ । शत्रुले प्रहार गरेको क्षेप्यास्त्र रोक्न आविष्कार गरिएको प्रविधिमध्ये एक “आइरन डोम” हो जसलाई स्थानीय हिब्रु भाषामा “किपात बर्जेल” भनिन्छ । शाब्दिक अर्थमा “फलामको टोपी “ अर्थात् यस्तो रक्षा कवच जसले इजरायललाई फलामको टोपी लगाए सरह सुरक्षित राख्नेछ ।
हामीले पढेका पौराणिक कथाका युद्धहरूमा एक पक्षबाट प्रक्षेपण गरिएका अस्त्रको प्रलय रोक्न गन्तव्यमा पुग्नु अगावै मारक अस्त्र प्रहार गरेर आकाशमै ध्वस्त पारिन्थ्यो । रामायण महाभारतजस्ता टेलिभिजन शृङ्खलाहरूमा पनि यस्तै दृश्य हेरेका थियौँ ।
जस्तै आग्नेयास्त्र शमन गर्न वारुणास्त्र, वायव्यास्त्रको लागि माहेन्द्र, माहेश्वरास्त्रका लागि रौद्रास्त्र सन्धान गरिनुपर्थ्यो । यी दुई एक आपसमा जुधेपछि अस्त्र निस्तेज हुन्थे । युद्धको बेला ठ्याक्कै त्यस्तै दृश्य इजरायलको आकाशमा देख्न सकिन्छ । शत्रुले विनाशकारी क्षेप्यास्त्र प्रहार गर्नासाथ राडारले सूचना दिन्छ र प्रतिरक्षा प्रणाली सक्रिय हुन्छ फलस्वरुप त्यसको सम्भावित क्षति र लक्ष्य आङ्कलन गरी क्षेप्यास्त्र भेदक इन्टरसेप्टर प्रहार गरिन्छ र आकाशमै विस्फोट गरिन्छ । यो सबै कार्य यति छिटो हुन्छ कि आकाशमा धिपधिप गर्दै ताराहरू खसेजस्ता लाग्छन् ।
सिरियामा अवस्थित इरानको वाणिज्य दूतावासमा भएको आफ्नो सैनिक अधिकारीको हत्यामा इरानले इजरायललाई दोषी ठहर्यायो । त्यसको बदला स्वरूप इजरायलमाथि ३०० भन्दा बढी ड्रोन, क्रुज र व्यालेस्टिक मिसाइल अनि मानवरहित विमानमार्फत हमला गर्यो ।
इरानको रिभोलुसनरी गार्डस कोर (आइआरजिसी) ले कम्तीमा ६०० देखि १००० माइल टाढाबाट प्रहार गरेका यी अस्त्रहरू इजरायल आइपुग्न नै नौ घण्टा लागेका थिए । ड्रोन र मानवरहित यान प्रक्षेपण गरेको एक घण्टापछि व्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेका थिए ताकी सयौँ अस्त्रहरू एकै समयमा एकै पटक खसुन् । इजरायलमा शनिवार (सब्बात यहुदीहरूको चाडमा ) मध्यरात पुग्ने गरी भएको सो हमला अत्यन्त ठुलो तयारीका साथ धेरैभन्दा धेरै क्षति पुर्याउने गरी गरिएको थियो ।
एकैसाथ लेबनानबाट हिजबोल्लाहले पनि इजरायलको गोलान हाइटसमा सोही समयमा रकेट आक्रमण गरेको थियो । यद्यपि इरानका कुनै पनि अस्त्रले उल्लेख्य क्षति पुर्याउन सकेन, ती आकाशमै नष्ट गरिए ।
कसरी समस्त अस्त्रहरू आकाशमै निस्तेज भए ?
के इजरायलमा विकसित क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली आइरन डोमले नै यो रोकेको हो त ? यो प्रश्न यतिखेर संसारभरका मानिसहरूमा छाएको छ । आखिर यति ठुलो तयारीका साथ ठुलो परिमाणमा एकै पटक गरिएको आक्रमणबाट कसरी बच्यो इजरायल ?
मिडियामा आएजस्तो यस पटकको आक्रमण रोक्न इजरायल आइरन डोमको भर परेको थिएन । पहिलो त १७० ड्रोन र ३० वटा क्रुज क्षेप्यास्त्र इजरायली क्षेत्रमा प्रवेश गर्न नसक्ने खालका थिए । तीमध्ये धेरै जसो मिसाइल र मानवरहित वाहनहरू अमेरिका , बेलायत , फ्रान्स र जोर्डनले बिच बाटोमै खसाले । बाँकी रहेका केही व्यालिस्टिक क्षेप्यास्त्र इजरायली आकाशमा पुगेका थिए तर तिनलाई निस्तेज गर्न इजरायली आकाशमा एरो -३ (Arrow 3 ) सक्रिय थियो ।
क्षेप्यास्त्र प्रतिरक्षाका लागि इजरायली सुरक्षा बलले अनेकौँ स्तरमा धेरै उपायहरू अवलम्बन गरेको छ । आइडिएफले जारी गरेको भिडियोमा इजरायली युद्धक विमानले आकाशमै प्रतिरोधक इन्टरसेप्टर प्रहार गरेर इरानबाट प्रक्षेपित अस्त्रहरू डिस्पोज गरेको देखाएको छ । इरानबाट प्रक्षेपित अस्त्र इजरायल आइपुग्न लामो समय लाग्ने भएकोले पनि इजरायलले पूर्व तयारी गर्न प्रशस्त समय पायो ।
इजरायलमा भएका क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीका अरू प्रकारहरू
1 द एरो १,२,३ (The Arrow 1,2,3)
एरो (स्थानीय भाषामा -हेच ३ ) शाब्दिक अर्थ – वाण । द एरो मिसाइल डिफेन्स सिस्टम लामो दुरीको क्षेप्यास्त्र नष्ट गर्नको लागि डिजाइन गरिएको हो , जस्तै साउदी अरबबाट हुथी विद्रोहीहरूद्वारा प्रहार गरिएका क्षेप्यास्त्रहरू वा इरानबाट प्रहार गरिएका व्यालेस्टिक मिसाइलहरू पनि यस अन्तर्गत पर्छन् । यो अत्यन्त जटिल प्रणाली हो जसले अनेकौँ स्तरमा धेरै कुशलतापूर्वक कार्य गर्छ यसको सफलता दर ९९प्रतिशत रहेको छ । इजरायलमा एरो १ , एरो २ र एरो ३ प्रतिरक्षा प्रणाली विकास गरिएका छन् । यसले ११००० प्रतिघण्टाको रफ्तारमा शत्रुको क्षेप्यास्त्र नष्ट गर्ने सामर्थ्य राख्छ । यसले ग्रिन पाइन राडार मार्फत सूचना प्राप्त गर्छ जसले २४०० किलोमिटर सम्मको लक्ष्य पत्ता लगाउन सक्छ र एकै पटक १४ वटा लक्ष्य रोक्न सक्छ ।
४ प्याट्रियट मिसाइल डिफेन्स सिस्टम
अमेरिकामा विकसित यो क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली इजरायलमा प्रयोग भएका क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीहरूमा सबैभन्दा पुरानो प्रकारको मानिन्छ । १९९१ मा प्रथम खाडी युद्धको समयमा इराकबाट प्रहार गरिएका स्कड मिसाइलहरू निस्तेज गर्न अमेरिकी सैनिकले यसको प्रयोग सुरु गरेको थियो ।अमेरिका, जापान, जर्मनी लगायतका विभिन्न देशहरूले यो प्रविधिको प्रतिरक्षा प्रणालीमार्फत जासुसी जहाजहरू , मानवरहित वाहन या ड्रोन खसाल्न प्रयोग गर्दै आएका छन् ।
५ आइरन डोम (किपात बर्जेल)
यसको नाम त हामी सबैले सुनेका नै छौँ । प्यालेस्टाइनबाट प्रहार गरिने छोटो दुरीको क्षेप्यास्त्र प्रतिरोध गर्न आइरन डोम इजरायलमा वरदान साबित भएको छ । यसले अनवरत २४ सै घण्टा स्वचालित रूपमा हरेक प्रकारको क्षेप्यास्त्र आक्रमणबाट इजरायललाई बचाउँदै आएको छ । इस्लामिक विद्रोही समूह हमास (प्यालेस्टाइन) र हिजबोल्ला ( लेबनान) बाट दागिएका हजारौँ हजार रकेटहरू यसले निस्तेज पारेको छ । यसको सफलता दर ९० प्रतिशत छ । यसले ४ देखि ७० किलोमिटर (२.५ -४३ माइल) अर्ध व्यासभित्र निशाना लगाउन सक्छ । आइरन डोमबाट प्रहार हुने क्षेप्यास्त्र भेदक इन्टरसेप्टर लाई तमिर भनिन्छ । एकै पटक २० वटा तमिर प्रहार गर्न सक्ने आइरन डोम पोर्टेबल (आवश्यकता अनुसारको स्थानमा लैजान सकिने ) गरी डिजाइन गरिएको छ ।
६ डेभिड स्लिङ
इजरायलको क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीको अर्को प्रकार डेभिड स्लिङ हो , यसको प्राथमिक उद्देश्य मध्यम दुरीका क्षेप्यास्त्र प्रतिरक्षा गर्नु हो । आइरन डोमले लक्ष्य साँध्न सक्ने रेन्जभन्दा बाहिर आएका मध्यम दुरीका क्षेप्यास्त्र प्रतिरोध गर्न डेभिड स्लिङ डिजाइन गरिएको हो । विशेष गरी उत्तरी इजरायलमा लेबनानबाट हिजबोल्ला गुरिल्लाहरूले प्रहार गर्ने लामो दुरीको क्षेप्यास्त्र निस्तेज गर्न यो प्रकृतिको प्रतिरक्षा प्रणाली सक्रिय रहँदै आएको छ ।
७आइरन वीम
आइरन डोमको जस्तै आइरन वीम (स्थानीय भाषामा – केरेन बर्जेल) को चर्चा पनि इजरायलमा धेरै छ । यो लेजर आधारित क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली हो । यो छोटो दुरीको रकेट, तोप खाना वा मोर्टार बमहरू नष्ट गर्न डिजाइन गरिएको हो । यो मानवरहित वाहन (युएभी)हरूलाई नष्ट गर्न पनि प्रयोग गरिन्छ । यसको पूर्ण विकाससँगै क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीमा ठुलो उपलब्धि या गेम चेन्जर साबित हुने विश्वास गरिएको छ । किनकि कन्भेन्सनल मिसाइल इन्टरसेप्टरको तुलनामा यसको लागत कम हुनुका साथै असीमित सङ्ख्यामा फाइरिङ गर्न सक्छ । ७किलोमिटर टार्गेट रेन्ज रहेको आइरन वीमले कुनै ठोस प्रोजेक्टाइल अस्त्र प्रयोग नगरी लेजर, माइक्रोवेभ, पार्टिकल वीम र साउन्ड वीमकै माध्यमबाट लक्ष्यलाई ध्वस्त बनाउन सक्छ ।
यसरी इजरायलमा भएको उच्चस्तरीय प्रविधिको विकास र संयुक्त रूपमा क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीले यसमाथि आक्रमण भएका हजारौँ हजार क्षेप्यास्त्रहरू निस्तेज पार्दै आएको छ । अन्यथा युद्धको समयमा सिरिया लेबनान र प्यालेस्टाइनबाट दैनिक बर्सने हजारौँ क्षेप्यास्त्र , मानवरहित वाहन , क्रुज मिसाइल र प्रलयकारी विस्फोटक भरिएका व्यालेस्टिक मिसाइलहरूको प्रहारले इजरायल खरानी भइसक्ने थियो भनेर सहजै अनुमान लगाउन सकिन्छ ।
रातोपाटी
सूचना प्रविधिका साथै कला र साहित्यमा रुचि राख्ने कृष्णपक्ष थापा इजरायलको जेरुसलेममा कार्यरत छन ।