काठमाडौँ- नेपाली कांग्रेसकी नेतृ चित्रलेखा यादव अस्ट्रेलियाको राजदूतमा सिफारिस भएकी छन् ।
सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पूर्वउपसभामुखसमेत रहेकी यादवलाई अस्ट्रेलियाको राजदूतमा सिफारिस गर्ने निर्णय गरेको हो।
यसअघि इजरायलको राजदूतका रुपमा कार्यकाल पुरा गरेर फर्किएकी कान्ता रिजाल अस्ट्रेलियाका लागि सिफारिस भएकी थिइन । उनको नाम विवादका कारण काटिएपछि उक्त ठाउँ रिक्त थियो ।
सरकारले गरेको राजदूत सिफारिस समावेशी नभएको भन्दै आलोचना भइरहेका बेला कांग्रेसले आफ्नो कोटाबाट मधेसी समुदायकी यादवलाई राजदूत बनाएर पठाउन लागेको हो।
संसदीय सुनुवाइमा नै किन काटियो प्रस्तावित राजदूत कान्ता रिजालको नाम ?
यसअघि इजरायलको राजदूतका रुपमा कार्यकाल पुरा गरेर फर्किएकी कान्ता रिजाल अस्ट्रेलियाका लागि राजदूतमा सिफारिस भएकी थिइन्।
१६ साउनको मन्त्रिपरिषद बैठकले १८ जना राजदूतहरुको नाम सिफारिस गरेको थियो । तर २७ साउनमा पराराष्ट्र मन्त्रालयबाट संसदीय सुनुवाइ विशेष समितिमा १७ जनाको मात्रै पुग्यो । संसद सचिवालयमा पुगेको सूचीमा अष्ट्रेलियाका लागि राजदूत सिफारिस भएकी कान्ता रिजालको नाम नै थिएन ।
इजरायलबाट फर्किएकी रिजाल नेपाली कांग्रेसको कोटामा फेरि अस्ट्रेलियाको राजदूतका लागि सिफारिस भएकी थिइन् । तर इजरायलको तेल अभिभस्थित नेपाली दूतावासले दिएको एउटा गम्भीर सूचनाका कारण उनको नाम सुनुवाइका लागि नपठाइएको परराष्ट्र मन्त्रालय स्रोतले बतायो ।
रिजालसँग इजरायलमा सहयोगीमा रुपमा गएकी एक महिला उनीसँग नेपाल नफर्किएको भन्दै दूतावासका डेपुटी चिफ अफ मिसन कुमारबहादुर श्रेष्ठले सरकारलाई जानकारी गराएका थिए । राजदूत भएपछि रिजालले दुई जना सहयोगीलाई आफूसँग इजरायल लगेकी थिइन् । उनीहरुमध्ये एक जना नेपाल फर्किए भने अर्का सहयोगी चाहिँ इजरालयमै लुकेर बसे ।
इजरायल सरकारले रिजालसँग आएकाहरु फर्किए/नफर्किएकोबारे लिखित सूचना माग गरेपछि कार्यबाहक राजदूत श्रेष्ठले ‘नोट भर्बल’ (एनभी) लेखेर एक जना सहयोगी नेपाल नपुगेको सूचित गरेका थिए ।
यसले गम्भीर नैतिक प्रश्न खडा भएपछि रिजालको नाम संसदीय समितिमा नपठाएको परराष्ट्र मन्त्रालय स्रोतले बतायो । ‘भागेकी भनिएकी व्यक्ति अहिले कसैको सम्पर्कमा पनि नभएकाले पनि उहाँको नाम पठाउन सकिने अवस्था रहेन,’ एक अधिकारीले भने, ‘उहाँले आफूले नभगाएको दाबी गर्नुभएको थियो ।’
पूर्वराजदूत रिजालले भने ३१ असार (१५ जुलाई) मा नेपाल फर्किने गरी विमानस्थल आउने बेलामै एकाएक सहयोगी बेपत्ता भएको बताइन् । ‘उनको पासपोर्ट लगायतका कागजपत्र मसँगै थियो, तर आउने दिनमै भागिछन्,’ रिजालले भनिन्, ‘अझ पनि उनको कागजपत्र मसँग सुरक्षित नै छ ।’
इजरायलमा केयर गिभरसहित विभिन्न काममा राम्रो आय हुने भएकाले नेपाली श्रमिकहरु अवैध रुपमा समते बस्ने गरेका छन् । पूर्व राजदूत कान्ता रिजालले सहयोगीका रुपमा लगेकी महिला पनि अवैध भएर नै बस्ने गरी इजरायलमा लुकेको अनुमान छ ।
‘आफ्ना सहयोगीलाई आफूसँगै फिर्ता ल्याउने उहाँको दायित्व हुन्थ्यो,’ परराष्ट्रका एक अधिकारी भन्छन्, ‘वास्तवमै भागेको नै भए पनि नैतिक उत्तरदायित्व उहाँकै भएकाले अहिलेलाई अष्ट्रेलियाको राजदूतमा सुनुवाइ गर्न नाम पठाउने सकिने अवस्था रहेन ।’
यसरी सहयोगीको गतिविधिका कारण इजरायल र साइप्रसमा राम्रो छवि बनाएर सफलता पूर्वक काम गरिसकेकी पूर्व राजदूतको सिफारिसमा ट्विस्ट आएको छ ।
कांग्रेसको कोटाबाट अस्ट्रेलियाको राजदूतमा सिफारिस भएकी मधेसी समुदायकी चित्रलेखा यादव पनि गरिमामय संसदको पूर्वउपसभामुख भैसकेकी कांग्रेस नेत्रृ हुन् ।
सिफारिस भएका राजदूतहरु संसदीय सुनुवाइबाट अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्ति दिने प्रावधान छ ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com
1 Comment
Pingback: इजरायलकी पूर्व राजदूत कान्ता रिजालले लगेकी घरेलु श्रमिक तखानाबाटै पक्राउ - नेपाल इजरायल डट कम (nepa