तेल अविव – इजरायलमा नयाँ वर्ष ‘नेपाल सम्बत् ११४५’ लाई भव्यताका साथ स्वागत गर्दै म्ह पूजा कार्यक्रम सम्पन्न भएको छ। नेवा खल इजरायलले आयोजना गरेको यो विशेष कार्यक्रम बि.स २०८१ साल कार्तिक १७ गते, शनिबार, तेल अविवमा सम्पन्न भएको हो।
कार्यक्रममा इजरायलका लागि कार्यवाहक राजदूत कुमारबहादुर श्रेष्ठ प्रमुख अतिथि थिए। उनले सम्बोधन गर्दै नेपाल सम्बत् र नेवारी संस्कृतिको महत्वबारे चर्चा गरे।
म्ह पूजामा इजरायलमा रहेका विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, नेवारी समुदायका सदस्यहरु, र स्थानीय नेपालीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमले समुदायलाई एकताबद्ध गर्दै परम्परा र सांस्कृतिक पहिचानलाई उजागर गरेको छ।
विशेष अवसरमा नेवा खल इजरायलका पूर्व अध्यक्षद्वय मनु श्रेष्ठ र राजकुमारी श्रेष्ठलाई सम्मान पत्र प्रदान गरिएको थियो। उनीहरूको योगदानलाई नेवा खलले उच्च सम्मानका साथ सम्झेको छ।
नेवा खल इजरायलकी अध्यक्ष ज्योति प्रधानले कार्यक्रमको सभापतित्व गर्दै म्ह पूजाको महत्व र यसले आत्मसम्मान, आत्मशुद्धि, र सकारात्मक सोचलाई बढावा दिने कुरा औंल्याइन्।
कार्यक्रमले नयाँ वर्षको उल्लासमय स्वागत गर्दै परम्परागत मूल्य र संस्कृतिलाई प्रवर्द्धन गर्ने प्रयासलाई अझ मजबुत बनाएको छ।
नेपाल सम्बत् इजरायलमा मनाइने विशेष पर्वहरूमध्ये एक महत्वपूर्ण कार्यक्रम मानिन्छ। यो पर्वले नेपाली संस्कृतिलाई प्रवासी भूमिमा जीवन्त राख्न महत्वपूर्ण भूमिका खेलेको छ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com