नेपाली महिलाहरूको महान् पर्व हरितालिका तिजको अवसरमा गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् इजरायलले तीजको दर खाने तथा विविध सांस्कृतिक कार्यक्रम “तीज मेला”को आयोजना गरेको छ ।
हरितालिका तिज तथा नेवार समुदायको चोथा:पुजा (२०८१) को पावन अवसरमा शुभकामना सहित जारी गरिएको एक विज्ञप्तिमा गैर आवासीय नेपाली सङ्घ ,राष्ट्रिय समन्वय परिषद् (NRNA-NCC) इजरायलद्वारा इजरायलमा रहेका दिदी बहिनी तथा दाजुभाइहरूलाई नि:शुल्क दर खाने तथा विविध सांस्कृतिक प्रस्तुति सहितको तिज विशेष कार्यक्रम गर्न लागिएको जानकारी दिइएको छ ।
कार्यक्रममा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहने छ, साथै बितेका बर्षहरूमा झैँ एनआरएन-एनसीसी इजरायलले नेपालको वृद्धाश्रममा रहनुभएका असहाय आमा बुवाहरूलाई यो वर्ष पनि दर खुवाउने निर्णय गरेको छ ।
एनआरएन-एनसीसी इजरायलले आयोजना गरेको उक्त कार्यक्रममा इजरायलमा हुनुहुने सम्पूर्ण नेपाली तथा नेपाली भाषी दिदीबहिनीहरू तथा दाजुभाइहरू,विभिन्न सक्रिय सङ्घ संस्थाहरू ,विद्यार्थी ,व्यापारी, बुद्धिजीवी तथा पत्रकार लगायत सम्पूर्णमा गरिमामय उपस्थिति जनाउन र शुभकामना आदान प्रदान गर्न / रम्न र रमाउनका लागि संस्थाले हार्दिक अनुरोध गरेको छ ।
मध्यपूर्वमा बढेको थप तनाव , इजरायलमा कायम रहेको द्वन्द्वात्मक अवस्था र विषम परिस्थितिका कारण यस अघि प्रकाशित सूचना अनुसार तय गरिएको कार्यक्रममा फेरबदल गर्नु परेको संस्थाले जनाएको छ ।
इजरायलमा रहनुहुने सम्पूर्ण नेपालीहरूका लागि प्रवेश निःशुल्क राखिएको सांस्कृतिक कार्यक्रम ३० अगस्त २०२४ शुक्रवार बेलुकी ठिक ५ बजेबाट एभरेस्ट नेपाली डिस्को हल (तेल अभिव ) मा हुन गइरहेको छ ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com