सामाजिक सञ्जाल टिकटकमा लगाइएकाे प्रतिबन्ध आधिकारिक रूपमा हटाइएकाे छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाइएको रोक हटाउन सम्बन्धित सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकहरूलाई निर्देशन जारी गरेको छ ।
गत ६ भदाैमा बसेकाे मन्त्रिपरिषद् बैठकले टिकटकको प्रयोगमा लगाइएको रोक हटाउने निर्णय गरेकाे थियाे ।
यसअघि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले २७ कात्तिक २०८० मा टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । सामाजिक मर्यादा उल्लंघन गरेकाे भन्दै टिकटकमाथि प्रचण्ड सरकारले प्रतिबन्ध लगाएकाे थियाे ।
पछिल्लाे समय टिकटकले नेपालकाे कानुन मान्ने भन्दै प्रतिबद्धता जनाएपछि सरकार टिकटककाे प्रतिबन्ध हटाउने निर्णयमा पुगेकाे हाे ।
सबै सामाजिक सञ्जाललाई समान व्यवहार गर्न र आवश्यक नियम, कानुन बनाउन २४ साउनमा सञ्चारमन्त्री, सचिव र नेपाल दूरसञ्चार प्राधिकरणका अधिकारीको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका थिए ।
प्रधानमन्त्रीकाे सोही निर्देशनकाे आधारमा सञ्चार मन्त्रालयले टिकटककाे प्रतिबन्ध हटाउने प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरेकाे थियाे ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com