हमास राजनीतिक ब्युरो प्रमुख इस्माइल हानियाको मृत्यु पश्चात् क्रुद्ध बनेको इरानले इजरायलमा आक्रमण गर्न आदेश दिएको हुँदा मध्यपूर्व थप तरङ्गित बनेको छ ।
इरान र यसका साझेदार हिज्बोल्ला र हुथी लडाकु समूहले एकीकृत र भयानक आक्रमण गर्ने आशङ्काका बिच इजरायलमा थप सतर्कता अपनाइएको छ । इजरायल सँग आक्रमण गर्ने हमास हुथी र हिज्बोल्लाको समूहमा इरान सामेल हुने सङ्केतसँगै मध्यपूर्वमा थप अन्योल र अस्थिरता बढेको छ ।
इजरायलको आकाशमा खतरा बढेको भन्दै अर्को सूचना जारी नभएसम्म युनाइटेड, फ्लाई दुबई, डेल्टा, एयर इन्डिया, बाल्टिक एयरलाइन्स, लुफ्थान्सा, स्विस एयरलाइन्स, ब्रसेल्स एयरलाइन्स, अस्ट्रियन एयरलाइन्स, र यूरोविंग्सले इजरायलका लागि उडानहरू रद्द गर्ने घोषणा गरेको छ ।
यद्यपि इजरायलले भने आफ्नो देशको आकाश सुरक्षित रहेको दाबी गर्नुका साथै हवाई उडानमा कुनै समस्या नरहेको बताएको छ । इजरायली विमान अधिकारीहरूका अनुसार जब स्थिति साँच्चै गम्भीर हुन्छ, तब इजरायलले आफ्नै पहलमा हवाई क्षेत्र बन्द गर्नेछन् भन्दै हवाई सेवाहरूलाई न आत्तिन अनुरोध गरेको छ ।
गत वर्ष अक्टोबर ७ मा प्यालेस्टिनी उग्रवादी समूह हमासले अप्रत्याशित रूपमा गरेको आक्रमण हत्या र अपहरणपछि इजरायल र इस्लामिक अतिवादी समूहहरू बिच युद्धको स्थिति बनेको छ । यदि इरानले इजरायलमा आक्रमण गरेमा अमेरिकाले प्रतिरक्षामा सघाउने वचन दिएको छ भने इजरायलले पनि जुनसुकै स्तरको आक्रमणको प्रतिरक्षाको लागि आफूहरू तयार रहेको जानकारी दिएको छ ।
नेपाली दूतावास इजरायलले एक सूचना जारी गरेर इजरायलमा रहेका नेपालीहरूलाई सतर्क रहन भनेको छ । राजदूतावासद्वारा जारी सूचनामा लेखिएको छ –
यस क्षेत्रमा पछिल्लो समय विकसित परिस्थितिलाई मध्यनजर गर्दै जुनसुकै बेला इजरायली होम फ्रन्ट कमान्डद्वारा सर्वसाधारणका लागि नयाँ निर्देशनहरू जारी हुन सक्ने भएकाले नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई इजरायली नेसनल इमर्जेन्सी पोर्टलबाट अद्यावधिक स्थानीय सुरक्षा प्रोटोकलबारे जानकार रहन, उक्त प्रोटोकलहरू पालना गर्न र आफ्नो सुरक्षातर्फ विशेष ध्यान दिन एवं सुरक्षित आश्रय स्थलको सुविधा भएको स्थलको आसपासमै रहन समेत हार्दिक अनुरोध गर्दछौँ।
सूचना:
यस क्षेत्रमा पछिल्लो समय विकसित परिस्थितिलाई मध्यनजर गर्दै जुनसुकै बेला ईजरायली होम फ्रन्ट कमाण्डद्वारा…
Posted by Embassy of Nepal, Tel Aviv on Friday 2 August 2024
साथै राजदूतावासले एक फारमको लिङ्क शेयर गर्दै इजरायलमा रहनुभएका नेपाली नागरिकहरूले आफ्नो विवरण अनिवार्य रूपमा भर्नु हुन समेत अनुरोध गरेको छ ।
फारम यसप्रकार छ । स्मरण रहोस – तपाईँले भरेको विवरण नेपाली दूतावास इजरायलका अधिकारीहरूले मात्र प्राप्त गर्न सक्छन् ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com