जेरूसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले हमासले बन्धक रिहाइका क्रममा गर्ने ‘अपमानजनक समारोह’ रोक्ने प्रतिवद्धता नआएसम्म गाजा युद्धविराम सम्झौताअन्तर्गत प्यालेस्टिनी कैदीहरूको सातौँ समूहको रिहाइ प्रक्रिया ढिलो हुने बताएका छन्।
सम्झौता अनुसार सशस्त्र इस्लामिक लडाकू समूह (हमास) ले शनिबार सातौं समूहअन्तर्गत छ जना बन्धकलाई रिहा गरिसकेको छ। बदलामा इजरायलले ६०० प्यालेस्टिनी बन्दीलाई रिहा गर्ने सहमति भए पनि हमासद्वारा बन्धक रिहाइका क्रममा आयोजना गरिएका ‘समारोह’लाई लिएर इजरायलले बन्दी रिहाइमा ढिलाइ गरेको छ। इजरायलले उक्त समारोहलाई आफ्ना नागरिकको अपमान भनेको छ।
युद्धविरामको पहिलो चरण जनवरी १९ मा सुरु भएयता हमासले गाजाका विभिन्न स्थानमा सार्वजनिक समारोहबीच २५ जना जीवित इजरायली बन्धकलाई रिहा गरिसकेको छ। इजरायलले नकाबपोश लडाकुहरूले बन्दीहरूलाई नाराले सजाइएका मञ्चहरूमा उभ्याएर सम्बोधन गराउने, हात हल्लाउन लगाउने जस्ता कार्यप्रति कडा आपत्ति जनाएको छ।
यसअघि रेडक्रसले ‘सबै पक्ष’लाई सम्मानजनक र निजी तरिकाले बन्धक तथा बन्दीको आदानप्रदान गर्न आग्रह गरेको थियो। हमासले शनिबार छ जना इजरायली बन्दीलाई रिहा गरे पनि इजरायलले बदलामा प्यालेस्टिनी कैदीको रिहाइ रोकिदिएको थियो।
मार्चको सुरुमा समाप्त हुने भनिएको पहिलो चरणको युद्धविराम सम्झौताअन्तर्गत कैदी आदानप्रदानमा भएको ढिलाइलाई हमासले युद्धविराम सम्झौताको ‘घोर उल्लङ्घन’ भनेको छ। नेतन्याहूको कार्यालयबाट जारी विज्ञप्तिमा भनिएको छ, “हमासले सहमतिका बुँदाहरू बारम्बार उल्लङ्घन गरेको छ। हाम्रा बन्धकहरूको अपमानजनक समारोह र प्रचारप्रसारका लागि भएको निन्दनीय प्रयोगलाई ध्यानमा राख्दै ‘आतङ्कवादी’हरूको रिहाइमा ढिलाइ गर्ने निर्णय गरिएको छ।”
विज्ञप्तिमा थप उल्लेख गरिएको छ, “जबसम्म हमासले अपमानजनक समारोह रोक्दैन, अर्को बन्धकको रिहाइ सुनिश्चित गरिने छैन।”
यसैबीच, वासिङ्टनबाट अमेरिकी विदेशमन्त्री मार्को रुबियोले हमासलाई चेतावनी दिँदै भनेका छन् कि यदि समूहले बाँकी रहेका सबै बन्धकहरूलाई रिहा नगरे, उनीहरू ‘ध्वस्त’ हुनेछन्।
सन् २०२३ को अक्टोबर ७ मा इजरायलमाथि भएको हमासको आक्रमणपछि इजरायलले समूहलाई ध्वस्त पार्ने प्रतिबद्धता जनाएको थियो। प्यालेस्टिनी लडाकू समूहहरूको दक्षिणी इजरायलमा भएको उक्त आक्रमणमा १,२०० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो भने इजरायलको जवाफी कारबाहीमा ४८,००० भन्दा बढीको मृत्यु भएको दुबै पक्षका तथ्यांकले देखाएका छन्। (एएफपी)
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com