गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् इजरायलले २० अक्टुवर २०२४ आइतबारका दिन युरोप क्षेत्र स्तरीय वक्तृत्वकला प्रतियोगिताको आयोजना गर्न गइरहेको छ । सेप्टेम्बर १० तारिख बसेको एन आर एन ए इजरायलको कार्यसमितिको बैठकले सो निर्णय गरेको संस्थाले जनाएको हो ।
“NRN दिवस” तथा नजिकिँदै गरेका नेपाली मौलिक चाडपर्वहरू वडा दशै , दीपावली, म्ह:पुजा तथा छठ पर्वको अवसर पारी आयोजना गर्न लागिएको सो प्रतियोगिता भर्चुअल अनलाइन प्लेटफर्ममा सञ्चालन हुने भएकोले इजरायल लगायत युरोप क्षेत्रका विभिन्न देशहरूमा रहेका नेपालीले घरबाटै सहभागिता जनाउन सक्नेछन् ।
संस्थाले वैदेशिक रोजगारी, अध्ययन, व्यवसाय लगायत विभिन्न सिलसिलामा उपरोक्त क्षेत्रमा बसोबास गर्नुहुने सम्पूर्ण गैर आवासीय नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई सहभागिताको लागि अनुरोध गरेको छ ।
प्रथम द्वितीय र तृतीय विजेतालाई क्रमशः रु. २,००,०००/-, रु. १,५०,०००/-, र रु. १,००,०००/- पुरस्कार राशि र प्रमाणपत्र राखिएको सो प्रतियोगिता मार्फत युरोप क्षेत्रमा कार्यरत नेपाली दाजुभाइ दिदीबहिनीहरूको कला एवं प्रतिभा उजागर गर्दै युरोप क्षेत्रमा रहेका राष्ट्रिय समन्वय परिषदहरु बिचको सम्बन्ध र सहकार्यलाई वृद्धि गर्ने उद्देश्य आयोजक संस्थाले राखेको छ ।
सहभागिताको लागि दर्ता शुल्क ५० सेकेल (युरोपमा २० युरो) राखिएको कार्यक्रममा आवेदन दर्ता गर्ने अन्तिम मिति १३ अक्टोबर सम्म तोकिएको छ । इजरायलका प्रतियोगीहरूले +972546871258, +972509249393 र +972552980465 नम्बरमा सम्पर्क गरी आवेदन दर्ता गराउन सक्नेछन् भने इजरायल बाहिरबाट सम्पर्क गर्दा उल्लेखित नम्बरहरूकै ह्वाट्स अप वा एनआरएनएको आधिकारिक फेसबुक पेज, म्यासेन्जर वा इमेल ठेगाना nrnancc.israel@gmail.com मार्फत सम्पर्क गर्न सकिने छ ।
प्रतियोगिता मिति २० अक्टोबर २०२४ जुम भर्चुअल अनलाइनमा नेपाली समय अनुसार साँझ ठिक ५:०० बजे बाट सञ्चालन हुनेछ । कार्यक्रमको कार्यविधि, प्रतियोगिताको शीर्षक, नियम र अन्य आवश्यक जानकारीहरू क्रमशः आगामी सूचनाहरूबाट अद्यावधिक गर्दै जाने एन आर एन ए इजरायलले जानकारी दिएको छ ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com