नेपाल इजरायल डट कम, जेरुसलेम । यही जनवरी ३ तारिख शुक्रबार साँझ तमु समाज इजरायलले २६०९ औ तमु ल्होसार तथा सप्री ल्हो (सर्प वर्ग) को आगमन पर्वलाई इजरायलको तेल अभिभ धूमधामका साथ मनाएको छ । “शास्त्र हराए संस्कार हराउँछ संस्कार हराए संस्कृति हराउँछ संस्कृति हराए मानव अस्तित्व नै हराउँछ” भन्ने मूल नाराका साथ तमु समाज इजरायलले ल्होसार कार्यक्रम भव्यताका साथ् मनाएको हो ।
कार्यक्रमको आरम्भ संस्थाकी अध्यक्ष तथा कार्यक्रमकी सभापति विन्दु तमुस्यो, प्रमुख अतिथि नेपाली राजदूतावास इजरायलका महामहिम राजदूत प्राध्यापक धनप्रसाद पण्डित, डेपुटी चिफ अफ मिसन कुमार बहादुर श्रेष्ठ तथा विशिष्ट अतिथि नेपाल जनजाति महासङ्घ इजरायलकी अध्यक्ष मनु श्रेष्ठ र अन्य अतिथिहरुद्धारा संयुक्त रूपमा पानसमा दीप प्रज्वलन गरी औपचारिक रूपमा उद्घाटन गरिएको थियो ।
कार्यक्रममा इजरायलस्थित नेपाली सङ्घ संस्थाका प्रतिनिधि, विभिन्न पेसाकर्मीहरू, कलाकार, सञ्चार कर्मी लगायत नेपाली दाजुभाइ दिदी बहिनी उत्साहजनक सहभागिता रहेको थियो । नेपाली राष्ट्रिय गीतको धुन सँगै आरम्भ गरिएको सो कार्यक्रममा युद्धमा परी ज्यान गुमाउनु भएका मृतकहरू लगायत ज्ञात अज्ञात सहिदहरूको सम्झनमा एक मिनेट मौन धारण गरिएको थियो ।
कार्यक्रमकी संयोजक तथा संस्थाकी प्रथम उपाध्यक्ष नरमाया तमुस्योले स्वागतम मन्तव्य राख्नु भएको थियो । त्यसपछि तमु कलाकारहरूले ‘आशिमल’ तमु स्वागत नृत्य प्रस्तुत गरेर अतिथि तथा आमन्त्रितहरू सबैलाई कार्यक्रममा स्वागत गरेका थिए । आयोजक संस्थाकी निवर्तमान अध्यक्ष तथा प्रमुख सल्लाहकार खुसी क्ल्हे तमुस्यो, शेर्पा सङ्घ इजरायलकी अध्यक्ष फुर्वा शेर्पा र नेपाल आदिवासी जनजाति महासङ्घ इजरायलकी अध्यक्ष मनु श्रेष्ठले क्रमश: शुभकामना मन्तव्य राख्नु भयो ।
समाजसेवा र परोपकारी कार्य
तमु समाज इजरायल प्रवासमा पनि तमु समुदायको भेष भूषा रीति र संस्कृतिलाई जीवन्त राखेर समाज सेवा र सद्भावको उद्देश्यसहित २००६ इजरायलमा स्थापित भएको संस्था हो ।
रोजगारी र अध्ययनको सिलसिलामा इजरायलमा रहनु भएका तमु समुदायका नेपालीहरूलाई समेटेर नेपालका विभिन्न क्षेत्रमा सामाजिक कार्य गर्दै आएको यस संस्थाले आफ्नो परिचय प्रस्तुत गर्नुका साथै २०१३ देखि सक्रिय रूपमा गरेका सामाजिक सांस्कृतिक कार्यहरू झल्कने प्रिजेण्टेसन प्रस्तुति गरिएको थियो । यसले आमन्त्रितहरूलाई संस्थाको बारेमा बुझ्न थप सहयोग पुगेको थियो ।
नेपालमा विभिन्न समयमा भएको दैवी प्रकोप, प्राकृतिक विपत्ति तथा आपत् विपत्मा परेकाहरूको सहयोग, उपचार, छात्रवृत्ति, परोपकारी तथा समाज सेवाका लागि तमु समाज इजरायलले ९० लाख भन्दा धेरै सहयोग गरिसकेको विवरण प्रस्तुत गरियो ।
कार्यक्रममा तमु समुदाय र संस्थाको उचाइ अभिवृद्धि गराउन योगदान पुर्याउनु भएकी तमु समाज इजरायलकी निवर्तमान अध्यक्ष तथा प्रमुख सल्लाहकार खुसी क्ल्हे तमुस्योलाई सभापति र प्रमुख अतिथिको हातबाट सम्मान अर्पण गरिएको थियो ।
मौलिक लोक नृत्य घाटु र सोरठीको रौनक
कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रम सँगै तमु समुदायको मौलिक घाटु नृत्य पनि प्रस्तुत गरियो । सति र कुसुण्डा घाटु विशेष तिथि र अवसरमा मात्र नाच्न मिल्ने भएकाले यहाँ प्रस्तुत घाटु ‘बाह्रमासे’ घाटु भएको उद्घोषकले जानकारी गराए ।
घाटु गुरुङहरूको लोक संस्कृतिमा आधारित शास्त्रीय गीति-नाटक हो । स्थान अनुसार फरक फरक किंवदन्ती रहेको घाटु नाचमा दन्त्यकथा, प्रेम, वियोग गृहस्थी, राजकाज, जङ्गल प्रस्थान, सिकार आदि अनेक कथाहरू गीत गाउँदै सुनाइन्छ जसमा विशेष गरी १६ औँ शताब्दी तिरका पौराणिक कालका राजा रानीको कथावस्तु हृदय विदारक गीति भाकामा प्रस्तुत गरिन्छ ।
यसै गरी मादलको तालमा नाचिने अर्को मौलिक लोकनृत्य ‘सोरठी’ पनि कार्यक्रममा प्रस्तुत गरियो । यस्ता प्रस्तुतिहरूले इजरायलमा रहेका नेपालीहरूलाई भावनात्मक रूपमा स्वदेशमै भएको महसुस गराए । परम्परागत कला र संस्कृति अनि गाउँघरको स्मरण गराउने घाटु र सोरठी नाचको रौनक निकै सुन्दर र आकर्षक थियो ।
सांस्कृतिक सम्पदामा धनी नेपाली – राजदूत
कार्यक्रमका प्रमुख अतिथि इजरायलका लागि नेपाली राजदूत प्राध्यापक धनप्रसाद पण्डितले इजरायलमा रहेका नेपाली समुदायलाई तमु ल्होसारको शुभकामना दिनुभयो । जे जस्तो आर्थिक अवस्था भए पनि नेपाल बहु भाषी बहु जाति र बहु संस्कृतिको सुन्दर फूलबारी भएको भन्दै तिनले मनाउने यस्तै चाडपर्वले गर्दा नै हामी नेपाली सांस्कृतिक सम्पदाको रूपमा संसारकै धनी र खुसी मानिस हौँ भन्नु भयो ।
उहाँले इजरायलका स्याहार केन्द्रहरूमा भ्रमण गर्दा नेपाली कामदारको इमानदारिताको कदर भएको प्रसङ्ग उल्लेख गर्दै नेपालीहरू विभिन्न माध्यम र अवैध बाटो भएर समेत आउनु परेको तितो यथार्थ आफूलाई अवगत रहेको र इजरायलमा आवश्यक जनशक्ति यथासम्भव नेपालबाट नै आउने वातावरण बनाउन आफ्नो सधैँ कोसिस रहने बताउनु भयो । यसका साथै उहाँले इजरायलमा कार्यरत नेपालीहरूले विदेशमा आर्जेको सिप र लगानी स्वदेशमा लगाई रोजगारी सिर्जना गर्ने कार्यमा लग्नु पर्ने आवश्यकता पनि औँल्याउनु भयो ।
राजदूत पण्डितले आफू कूटनीतिज्ञ मात्र नभई एक अभिभावकको हैसियतले इजरायलमा रहेका नेपालीहरूको हक हित र सुरक्षाको सुनिश्चितताको लागि समुदायको बिचमा रहेर कार्य गर्ने बताउँदै नेपालीका समस्याहरूमा राजदूतावास र आफू जुनसुकै समय उपलब्ध रहने बताउनु भयो । गत बर्ष हमासको अपहरण र आक्रमणमा परेका नेपाली विद्यार्थीहरु रहेको स्थानमा स्थलगत भ्रमण गरेर भर्खरै फर्किएको स्मरण गर्दै राजदूत पण्डितले अपहरित विद्यार्थी विपिन जोशीको फिर्ताको लागि सबै कुटनीतिक प्रयास गर्ने बताउनु भयो ।
महामहिम राजदूत प्राध्यापक धनप्रसाद पण्डित एक महिना अघि मात्र इजरायल आइपुग्नु भएको थियो । भर्चुअल रूपमा यस अघि अन्य कार्यक्रममा सहभागी हुनु भएता पनि इजरायल स्थित नेपाली समुदायको कार्यक्रममा उहाँको यो नै पहिलो प्रत्यक्ष सहभागिता थियो ।
सभापति विन्दु तमुस्योले तमु ल्होसारको शुभकामना सहित आमन्त्रित सम्पूर्णमा धन्यवाद ज्ञापन गर्दै पहिलो चरणको औपचारिक कार्यक्रम समापन गर्नु भयो । दोस्रो चरणको अनौपचारिक कार्यक्रममा गीत तथा नृत्य सहित विविध मनोरञ्जनात्मक प्रस्तुतिहरू राखिएको थियो ।
कार्यक्रम सञ्चालन संस्थाकी महासचिव रेखा तमुस्यो र सचिव सोनी तमुस्योले गर्नु भएको थियो भने प्राविधिक रूपमा नेफिन इजरायलका पूर्व अध्यक्ष नयन इम्सोङ लिम्बुले सहयोग गर्नु भएको थियो ।
सूचना प्रविधिका साथै कला र साहित्यमा रुचि राख्ने कृष्णपक्ष थापा इजरायलको जेरुसलेममा कार्यरत छन । उनको ब्लग krishnathapa.comउनका अरु लेखहरु पढ्न सकिन्छ ।