काठमाडौँ । इजरेलको स्वास्थ्य मन्त्रालयले हमासले बन्धकहरुलाई छाड्नुअघि लागुऔषध दिएको बताएको छ । इजरेलको संसदीय समितिमा स्वास्थ्य अधिकारीबाट बन्धकहरुलाई लागुऔषध दिइएको बताइएको हो ।
हमासले दुनियाँलाई बन्धकहरु स्वस्थ्य र खुशी भएको देखाउन चाहने क्रममा लागुऔषध दिएको पनि स्वास्थ्य मन्त्रालयले दाबी गरेको छ । बन्धकलाई कैद गरिएको क्षेत्रमा उनीहरुलाई निकै निर्मत तरिकाले टर्चर गरिएकोले लागुऔषध दिइएको पनि जनाइएको छ ।
स्वास्थ्य मन्त्रालयले कयौँ बन्धक निकै गहिरो ट्रमामा रहेका कारण त्यहाँबाट निस्कन मुस्किल रहेकोसमेत जनाएको छ ।
हमासले २४० बढीलाई बन्धक बनाएकामा सयको हाराहारीमा मात्र रिहा गरेको छ । नेपालका विपिन जोशी भने अझै छुटेका छैनन् ।
जोशी कहिले छुट्छन् भन्नेसमेत यकिन छैन । इजरेली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले हालका लागि बन्धक छुटाउने कुनै उपाय नभएको बताएका छन् ।
उनको अवस्थासमेत अहिलेसम्म अज्ञात रहेको छ । हमासले इजरेलमा गरेको आक्रामणमा १० नेपाली विद्यार्थीको ज्यान गएको थियो ।
यसैबीच लेबनानका एक सैनिकको मृत्यु भएकोप्रति इजरेली सेनाले माफी मागेको छ । टाइम्स अफ इजरेलका अनुसार लेबनानमा हिजबुल्लाहका आतंकवादीहरुको झडपमा इजरेली सेनाले लेबनानका एक सैनिकलाई मारेको थियो ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com