एजेन्सी – प्यालेस्टिनी भूभाग वेस्ट बैंकका शरणार्थी शिविरहरूमा बढ्दो आतंकवादी गतिविधिलाई रोक्न इजरायलले सुरक्षा संयन्त्र कडा बनाएको छ। इजरायली सेनाका ट्यांकहरू वेस्ट बैंक प्रवेश गरेपछि जेनिन, तुल्करम, र नूर शम्स जस्ता क्षेत्रहरू युद्ध मैदानमा परिणत हुँदै गएका छन्।
संयुक्त राष्ट्रसंघका अनुसार यस परिस्थितिमा सर्वसाधारण प्यालेस्टिनीहरू सबैभन्दा बढी प्रभावित भएका छन्।
“वेस्ट बैंक हाल गाजा युद्धको भयावह विस्तारबाट गुज्रिरहेको छ,” संयुक्त राष्ट्रसंघका प्यालेस्टिनी शरणार्थी मामिलासम्बन्धी कमिश्नर जनरल फिलीप लाजारिनीले भने।
उनका अनुसार पाँच हप्ता अघि इजरायली सैन्य कारबाही सुरु भएदेखि बालबालिकासहित ५० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ।
यस सैन्य कारबाहीका कारण करिब ४० हजारभन्दा बढी मानिस विस्थापित भएका छन्। पाँच हजारभन्दा बढी विद्यार्थी प्रभावित भएका छन्, जबकि स्वास्थ्य सेवा, बिजुली, पानी र अन्य आधारभूत सेवाहरूको अभावका कारण हजारौं परिवारहरू समस्यामा परेका छन्।
इजरायली सेनाले जेनिन, तुल्करम, र नूर शम्सका शरणार्थी शिविरहरू खाली गराई ती क्षेत्रलाई सैन्य नियन्त्रणमा लिएको छ। इजरायलले ती क्षेत्रमा हमास समर्थित आतंकवादी गतिविधिहरू संचालन भइरहेको आरोप लगाएको छ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com