इजरायली सेनाले वेस्ट बैंकमा ट्याङ्क डिभिजन तैनाथ गर्दै जेनिन, तुल्करम, र नुर शम्स शरणार्थी शिविरहरू खाली गराएको छ। यसबाट ४० हजार प्यालेस्टिनी शरणार्थी विस्थापित भएका छन्, जुन १९६७ को इजरायल-अरब युद्धपछि पहिलो ठूलो विस्थापन हो। संयुक्त राष्ट्रसंघीय मानव अधिकार संगठनलाई पनि यहाँबाट हट्न निर्देशन दिइएको छ।
वेस्ट बैंकमा हिंसा तीव्र भएपछि इजरायलले ट्याङ्क पठाएको हो। इजरायलमा हालैका विस्फोटहरू वेस्ट बैंकबाट योजनाबद्ध गरिएको आशंका गरिएको छ। प्रधानमन्त्री नेतान्याहूले यस क्षेत्रमा कारबाहीको आदेश दिएका छन्।
इजरायलले १९६७ को युद्धपछि जोर्डनबाट वेस्ट बैंक कब्जा गरेको थियो र यहाँ यहूदी बस्तीहरू स्थापना गर्यो, जुन अन्तर्राष्ट्रिय कानुनअनुसार अवैध मानिन्छ।
त्यसैगरी, नेतान्याहूले गाजामा पुनः युद्ध सुरु हुन सक्ने बताएका छन्। हमासले ६ इजरायली बन्धकहरू रिहा गरेपछि इजरायलले ६०० प्यालेस्टिनी कैदीहरू रिहा गर्नुपर्ने सम्झौता गरेको थियो, तर पूरा भएको छैन। हमासले इजरायललाई सम्झौता उल्लंघनको आरोप लगाउँदै युद्धविरामको पहिलो चरणमै १०० प्यालेस्टिनी मारिएको दाबी गरेको छ।
वेस्ट बैङ्कमा भएको हिंसाप्रति राष्ट्रसङघका प्रमुखद्वारा ‘गम्भीर चिन्ता’ व्यक्त
इजरायलले कब्जा गरेको प्यालेस्टाइनी भूभागमा विस्तारित सैन्य कारबाहीको घोषणासँगै संयुक्त राष्ट्रसङ्घका प्रमुखले पश्चिमी किनारा (वेस्ट बैँक) मा इजरायली बसोवास गर्नेहरूको बढ्दो हिंसाप्रति सोमबार चिन्ता व्यक्त गर्नुभएको छ ।
इजरायलले आफ्नो सेना केही महिनासम्म पश्चिम किनाराका शरणार्थी शिविरमा रहने बताएको छ । त्यहाँ बसोबास गर्ने दशौं हजार प्यालेस्टिनीहरू तीव्र सैन्य कारबाहीका कारण विस्थापित भएका छन् ।
एन्टोनियो गुटेर्रेसले जेनेभामा संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्मा भन्नुभयो, “इजरायलीहरूले कब्जा गरेको पश्चिमी किनारामा उनीहरूबाट बढ्दो हिंसा र अन्य उल्लङ्घनका साथै एकीकरणको मागप्रति म गम्भीर चिन्तित छु ।”
प्यालेस्टाइनको छुट्टै क्षेत्र गाजा पट्टीमा युद्धविराम लागु भएलगत्तै सेनाले एक महिनाअघि पश्चिम किनाराको उत्तरी क्षेत्रमा प्यालेस्टिनी लडाकूविरुद्ध ठुलो आक्रमण सुरु गरेको थियो ।
जेनिन, तुलकारेम र टुबास सहरनजिकका थुप्रै शरणार्थी शिविरमा वेस्ट बैँकको आक्रमण विस्तारै विस्तार हुँदै गएको छ ।
आइतबार पनि इजरायली सेनाले जेनिनमा लडाकू ट्याङ्कर तैनाथ गर्ने घोषणा गरेको थियो । इजरायलले जेनिनमा आफ्नो अभियान ‘विस्तार’ गरिरहेको थियो ।
सन् २००५ मा दोस्रो प्यालेस्टिनी ‘इन्तिफादा’ भनिने विद्रोहको अन्त्यपछि पश्चिम किनारामा बख्तरबन्द बख्तरबन्द लडाकू गाडीहरू गाडीहरू तैनाथ भएको यो पहिलो पटक हो ।
सन् २०२३ को अक्टोबर ७ मा इजरायलमा हमासको घातक आक्रमणपछि सुरु भएको गाजा युद्ध सुरु भएयता पश्चिमी किनारामा हिंसा बढेको छ ।
गुटेर्रेसले गत जनवरी १९ देखि गाजामा जारी युद्धविरामको महत्त्वमाथि सोमबार जोड दिनुभएको छ ।
उहाँले भन्नुभयो, “हामी अनिश्चित युद्धविरामको साक्षी बनिरहेका छौं । हामीले कुनै पनि हालतमा शत्रुताको पुनरुत्थानबाट बच्नुपर्छ। गाजाका जनताले पहिले नै धेरै दुःख भोगेका छन्,” उहाँले भन्नुभयो ।
उहाँले भन्नुभयो, “यो स्थायी युद्धविरामको समय हो, बाँकी रहेका सबै बन्धकहरूको सम्मानजनक रिहाई, दुई–राज्य समाधानको दिशामा अपरिवर्तनीय प्रगति, कब्जाको अन्त्य र गाजालाई एक अभिन्न अङ्गको रूपमा एक स्वतन्त्र प्यालेस्टिनी राज्यको स्थापना यसको निर्दिष्ट लक्ष्य हुनुपर्छ ।’’
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com