नेपाल इजरायल डट कम, जेरुसेलम
इजरायलका राष्ट्रपति इज्याक हर्जोगले हमासद्वारा अपहरित नेपाली विद्यार्थी विपिन जोशीको सुरक्षित रिहाइ र नेपाल फिर्ती सुनिश्चित गर्न इजरायली सरकार निरन्तर लागिपरेको बताएका छन्।
इजरायलका लागि नेपाली राजदूत प्रा. धनप्रसाद पण्डितसँगको टेलिफोन कुराकानीमा राष्ट्रपति हर्जोगले जोशीसहित हमासद्वारा बन्दी बनाइएका अन्य अपहृत व्यक्तिहरूको उद्दारका लागि इजरायलले कूटनीतिक र सैन्य प्रयासलाई तीव्र बनाइरहेको स्पष्ट पारे।
मंगलबार साँझ भएको फोन वार्ताका क्रममा राष्ट्रपति हर्जोगले इजरायल सरकार नेपाली विद्यार्थी विपिन जोशीको सुरक्षाप्रति संवेदनशील रहेको भन्दै उनको सकुशल उद्दारका लागि कुनै कसर बाँकी नराख्ने बताए। परराष्ट्र मन्त्रालयका अनुसार इजरायलले जोशीको रिहाइ सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायसँग समेत समन्वय गरिरहेको छ।
२३ वर्षीय विपिन जोशी, जो नेपालबाट इजरायलको ‘अर्न एण्ड लर्न’ कार्यक्रमअन्तर्गत कृषि अध्ययनका लागि आएका थिए, अक्टोबर ७ मा हमासद्वारा दक्षिण इजरायलको किबुच आलुमिमबाट अपहरणमा परेका थिए। उनीसँगै अन्य नेपाली विद्यार्थीहरू पनि सो हमलामा घाइते भएका थिए भने हमासले १० जना नेपाली विद्यार्थीको हत्या गरेको थियो । विपिन जोशीलाई भने अन्य २५० जना बन्धकसंगै अपहरण गरेर गाजातर्फ लागेका थिए ।
जोशी हालसम्म हराइरहेका छन्, जसका कारण उनको परिवार र सिंगो नेपाल चिन्तित बनेको छ। इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितसंग भएको कुराकानीमा राष्ट्रपति हर्जोगको पछिल्लो प्रतिबद्धतासँगै नेपाल सरकार र नेपाली समुदायले जोशीको सुरक्षित उद्धारको आशा राखेका छन् ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com