इजरायलको संसदले हालसालै करिब आठ दशक पुरानो संयुक्त राष्ट्र संघीय निकाय (UNRWA)लाई प्रतिबन्ध लगाउने निर्णय गरेको छ। यस संस्थाले प्यालेस्टिनी शरणार्थीहरूलाई आधारभूत सेवाहरू प्रदान गर्दै आएको छ। यस निर्णयले इजरायलको कब्जामा रहेका लाखौं प्यालेस्टिनीहरूका लागि गम्भीर असर पार्न सक्छ।
सोमबार, कनेसेट (इजरायलको संसद)ले दुई विधेयक पारित गर्यो। पहिलो विधेयकले UNRWAलाई इजरायलमा कुनै पनि गतिविधि गर्न रोक लगाएको छ भने दोस्रो विधेयकले इजरायलका सरकारी अधिकारीहरूलाई UNRWA सँग सम्पर्क गर्न प्रतिबन्ध लगाएको छ, जसले UNRWAलाई इजरायलको नियन्त्रणमा रहेका क्षेत्रहरूमा प्यालेस्टिनी शरणार्थीलाई सेवा दिन अनुमति दिने सन् १९६७ को संधि रद्द गर्छ। यस निर्णयले इजरायलले कब्जा गरेका क्षेत्रमा UNRWA लाई काम गर्न रोक लगाउन सक्ने अपेक्षा गरिएको छ।
पहिलो कानुन पारित भएपछि विधेयकका प्रवर्तक, लिकुड पार्टीका सदस्य बोआज बिसमुथले भने, “जो कोही आतंककारीझैं व्यवहार गर्छ, उसलाई इजरायलमा कुनै अधिकार छैन… UNRWA भनेको हमास हो, बस।”
पहिले युएनआरडब्लुएले प्यालेस्टाइनबाट भागेर अन्य देशमा बसोबास गर्ने मानिसहरूलाई सहयोग गर्दथ्यो । सन् १९६७ मा इजरायल र संयुक्त राष्ट्रसंघबीच सन्धि भएको थियो । यसमा, युएनआरडब्लुएलाई इजरायली कब्जा गरिएको क्षेत्रमा प्यालेस्टिनी शरणार्थीहरूलाई मद्दत गर्न पनि अनुमति दिइएको थियो। यो सन्धि अब इजरायली संसदमा मतदान द्वारा रद्द गरिएको छ ।
इजरायलले युएनआरडब्लुएका कर्मचारीहरू हमाससँग नजिकबाट काम गरिरहेका छन् र एजेन्सीका १९ कर्मचारीहरूले ७ अक्टोबर २०२३ मा इजरायलमा भएको आक्रमणमा भाग लिएको दाबि गरेको छ । इजरायलले युएनआरडब्लुएका सयौं कर्मचारी हमाससँग सम्बन्धित रहेको प्रमाण फेला परेको बताएको छ ।
इजरायलको आरोपपछि संयुक्त राष्ट्रसंघले छानबिन सुरु गरेको थियो । अगस्टमा, ९ युएनआरडब्लुएका कर्मचारीहरूलाई उनीहरूको जागिरबाट हटाइको थियो । यसपछि अमेरिका र युरोपेली संघले केही समयका लागि युएनआरडब्लुएको आर्थिक सहयोग रोकेका थिए ।
अरब सदस्यहरूको कडा विरोध र पश्चिमी राष्ट्रहरूको दबाबको बाबजुद यस विधेयकको पक्षमा ९२ मत र विपक्षमा १० मत प्राप्त भएको थियो। दोस्रो विधेयक पनि ८७ पक्षीय मत र ९ विपक्षीय मतसहित पारित भयो। UNRWAका कमिश्नर-जनरल फिलिप लाज्जारिनीले यसलाई अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन भएको भन्दै यसलाई UNRWAको साख घटाउने प्रयासको पछिल्लो चरणको रूपमा वर्णन गरे।
केही देशहरू, विशेषगरी अमेरिकाले यस विवादास्पद प्रतिबन्धमा गम्भीर चिन्ता व्यक्त गरेका छन्, किनकि यसले लाखौं प्यालेस्टिनीहरूको शिक्षा, खाना, स्वास्थ्य सेवा र जीविकामा असर पार्न सक्छ। मतदानअघि अमेरिकी विदेश मन्त्रालयले इजरायललाई यस विधेयक पारित नगर्न आग्रह गरेको थियो र यस संस्थाले गाजामा “अपरिवर्तनीय भूमिका” खेलेको बताएको थियो। अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले यस विधेयक पारित गरिएमा यसले अमेरिकी कानुन र नीतिमा असर पार्नसक्ने चेतावनी दिएका थिए।
तर, ती सबै चिन्ताहरूको बाबजुद कनेसेट सदस्य युली एडेलस्टिनले यस निर्णयले “कुनै पनि रूपमा गाजामा मानवीय सहयोगलाई असर नगर्ने” भन्दै इजरायलले अन्तर्राष्ट्रिय कानुनभित्रै रहेर काम गरिरहेको बताएका थिए। इजरायलले धेरै पहिले देखि नै UNRWA लाई विघटन गर्न प्रयास गर्दै आएको छ, किनकि उनीहरूका अनुसार यसका केही कर्मचारीहरू हमाससँग आबद्ध छन् र यसका विद्यालयहरूले इजरायलविरुद्धको घृणा सन्देश फैलाउँछन्। UNRWAले भने यी आरोपहरूको खण्डन गर्दै आएको छ।
UNRWAको उद्देश्य के हो?
सन् १९४८ मा इजरायलको स्थापना पछि लाखौं प्यालेस्टिनीहरूलाई शरणार्थी बनाएको थियो। यिनै शरणार्थीलाई सेवा दिने उदेश्यले UNRWAको स्थापना सन् १९५० मा भएको थियो । यस संस्थाले सुरुमा ७.५ लाख शरणार्थीहरूको सेवा सुरु गरेको थियो, तर अहिले यसले करिब ५.९ मिलियन शरणार्थीहरूलाई मध्यपूर्वभर सेवा प्रदान गरिरहेको छ। यी शरणार्थीहरूमध्ये अधिकांश गाजा पट्टी, वेस्ट बैंक, पूर्वी यरुशलम, जोर्डन, लेबनान, र सिरियाका शरणार्थी शिविरहरूमा बस्छन्।
गाजा पट्टीमा, जसले एक वर्षभन्दा बढी समयदेखि इजरायली युद्धको पीडा भोग्दै आएको छ, UNRWAले करिब १.७ मिलियन प्यालेस्टिनी शरणार्थीहरूलाई सेवा दिन्छ। वेस्ट बैंक र पूर्वी यरुशलममा यसले करिब ८७१,५०० शरणार्थीलाई सहायता प्रदान गर्दछ।
यस संस्थाले प्यालेस्टिनी शरणार्थी र तिनका सन्तानलाई आश्रय, स्वास्थ्य सेवा, खाना, र शिक्षा प्रदान गर्दछ। यो संस्था सन् १९५० मा स्थापना भएयता शरणार्थीहरूको लागि रोजगारको मुख्य स्रोतसमेत रहेको छ। UNRWAका करिब ३०,००० कर्मचारीहरू मध्ये १३,००० भन्दा बढी गाजामा तैनाथ छन्, जबकि वेस्ट बैंक र पूर्वी यरुशलममा करिब ४,००० कर्मचारी कार्यरत छन्।
UNRWA विश्वमै एकमात्र यस्तो UN निकाय हो जसले कुनै विशेष शरणार्थी समूहको सेवामा केन्द्रित भएर काम गर्छ। यसले प्यालेस्टिनी शरणार्थीहरूलाई सेवामा समर्पित रहँदा UNRWAको म्यान्डेट भने उनीहरूलाई पुनःस्थापनामा सहयोग गर्नको लागि छैन। UNHCR, जो विश्वव्यापी शरणार्थीहरूको पुनःस्थापनामा केन्द्रित छ, UNRWA कार्यरत क्षेत्रहरूमा भने यसको म्यान्डेट छैन।
किन इजरायलले UNRWAलाई प्रतिबन्ध लगाउन खोजेको छ?
इजरायलले लामो समयदेखि नै UNRWAलाई समाप्त गर्न खोज्दै आएको थियो। केही इजरायली अधिकारीहरूले UNRWAको शरणार्थीको परिभाषालाई अस्वीकार गरेका छन् र १९४८ का शरणार्थीहरूको सन्तानलाई शरणार्थीको दर्जा दिइनुहुने बताएका छन्। यूलिया मालिनोव्स्की, जो विधेयकको प्रवर्तनमा संलग्न छिन्,ले भनेकी छिन्, “UNRWA… प्यालेस्टिनीहरूलाई इजरायलमा फर्कने भ्रम बेचिरहेको छ। तर यो सम्भव छैन।”
हाल युद्धको समयमा, इजरायलले UNRWAलाई दुर्बल बनाउने अभियानलाई तीव्र बनाएको छ र यसका केही कर्मचारीहरूले हमासको आक्रमणमा संलग्न भएको आरोपसमेत लगाएको छ।
UNRWA प्रतिबन्धको असर के पर्न सक्छ?
संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले भनेका छन् कि “यस अशान्त समयमा, UNRWA – अरूभन्दा धेरै आवश्यक छ… यो अपूरणीय छ।” उनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई पत्र लेख्दै यसले गाजामा मानव पीडालाई कम गर्ने प्रयासलाई रोक्ने बताएका थिए। उनले यो निर्णयलाई “पहिले नै विनाशकारी अवस्थालाई झन् बिगार्ने निर्णय” भने।
UNRWA गाजामा मुख्य मानवीय सहायता प्रदान गर्ने संस्था हो। गाजाका करिब २ मिलियन जनसंख्या यसमा निर्भर छन्, जसमा करिब १ मिलियन मानिसले UNRWAको शिविरहरूमा आश्रय लिने गर्दछन्। यसले गाजामा दशकौंदेखि खाना, स्वास्थ्य सेवा, शिक्षा र मनोवैज्ञानिक सहयोग प्रदान गर्दै आएको छ।
वेस्ट बैंकमा, UNRWAले १९ शरणार्थी शिविर, ९० भन्दा बढी विद्यालयहरू र स्वास्थ्य सेवाहरू प्रदान गर्दछ। यो संस्था नै प्यालेस्टिनी शरणार्थीहरूको लागि अति महत्वपूर्ण मानवीय सहायताको मुख्य स्रोत हो।
अन्तर्राष्ट्रिय समुदायको प्रतिक्रिया
सोमबार, क्यानडा, अस्ट्रेलिया, फ्रान्स, जर्मनी, जापान, दक्षिण कोरिया र बेलायतका विदेश मन्त्रीहरूले संयुक्त रूपमा यस विधेयकलाई रोक्न इजरायललाई आग्रह गरे। अमेरिकी विदेश मन्त्रालयले पनि UNRWAलाई प्रतिबन्ध लगाउनुमा असहमति जनाएको थियो र यसले अस्थिरता बढाउने चेतावनी दिएको थियो।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com