आईडीएफका प्रवक्ता डेनियल हागारीले बुधबार राति एइलातमा प्रहार गरिएको मध्ये एक UAV लाई नौसेनाको जहाजले नष्ट गरेको र अर्को UAV एइलात बन्दरगाहमा विस्फोटन भएको जानकारी दिएका छन्। मगेन डेभिड आदोमले घटनास्थलमा दुई जनालाई सामान्य चोटपटक लागेको जनाएको छ, ६८ वर्षीय व्यक्ति काँचका टुक्राले घाइते भएका थिए भने अर्को एक युवा हल्का घाइते भएका थिए।
इजरायलको प्रसिद्ध इलात बन्दरगाहमा UAV विस्फोट, २ जना घाइते
यसैबिच, इराकी स्रोतहरूले लेबनानी अल-मैयादिन नेटवर्कलाई उद्धृत गर्दै एइलातमा गरिएको आक्रमण इराकको मिलिसियाहरूले गरेको दाबी गरेका छन्। इजरायलमा गत वर्षको अक्टोबर ७ मा हमास्द्वारा भएको आतङ्कवादी हमलापछि मध्यपूर्वका विभिन्न राष्ट्रहरूमा छरिएका इस्लामिक उग्र वादी समूहहरूले इजरायलमाथि आक्रमण गर्दै आइरहेका छन् । नोभेम्बर २०२३ को सुरुदेखि नै इराकमा रहेका मिलिसियाले “प्रतिरोधको अक्ष” अन्तर्गतको सैनिक प्रतिक्रिया स्वरूप आक्रमण गर्दै आएका थिए ।
यसै क्रममा एक हप्ता देखि लेबनान स्थित हिजबोल्लाहका अखडाहरूमा इजरायलले हवाई आक्रमण गर्न सुरु गरेपछि इराकी मिलिसियाले पनि बुधबार राति इलातमा मानवरहित UAV आक्रमण गरेको हो ।
इरान समर्थित इराकको इस्लामिक रेजिस्टेन्स लडाकु समूहले सेप्टेम्बर २५ मा इजरायली लक्ष्यहरूमा दुई प्रतिशोधात्मक आक्रमणहरू गरेको छ। इराकको इस्लामिक रेजिस्टेन्सले एक विज्ञप्तिमा जोर्डन उपत्यकामा इजरायली सैनिकका विभिन्न लक्ष्यहरूलाई ड्रोन प्रयोग गरेर आक्रमण गरेको बताएको छ। साथै, यो समूहले रमोन एयर बेसलाई पनि ड्रोन प्रयोग गरेर आक्रमण गरेको दाबी गरेको छ।
इजरायललाई लक्षित गर्दै मिसाइल र UAV प्रहार गर्ने इराकका शिया मिलिसियाहरू वास्तवमा इरानद्वारा इराकमा परिचालित समूहहरू हुन् । पछिल्लो केही महिनामा यी आक्रमणहरू बढ्दै गएका छन्, जसले मिलिसियाहरूको आतङ्कवादी गतिविधिमा आएको परिवर्तनलाई झल्काउँछ। वर्षौँदेखि यी मिलिसियाहरू मुख्य रूपमा इराक र सिरियामा अमेरिकी सेनालाई निशाना बनाएर आक्रमण गर्दै आएका थिए ।
इजरायल विरोधी इराकी मिलिसिया
आसाइब अहल अल-हक, कताइब हिज्बुल्लाह, र हरकत अल-नुजबा सबै इराकमा आधारित शिया मिलिसिया हुन्, जसको इरानसँग निकट सम्बन्ध छ। यी समूहहरू लोकप्रिय मबिलाइजेसन फोर्सेस (पीएमएफ) का सदस्य हुन् र क्षेत्रभरका विभिन्न द्वन्द्वमा संलग्न भएका छन्।
आसाइब अहल अल-हक: यो इरानी कुद्स फोर्ससँग सम्बद्ध एक लडाकु समूह हो, जसले इराकमा अमेरिकी र गठबन्धन सेनामा आक्रमणको जिम्मेवारी लिएको छ। यस समूहले सिरियामा पनि सक्रियता देखाएको छ।
कताइब हिज्बुल्लाह: अमेरिकी सरकारले यसलाई आतंककारी संगठनको रूपमा सूचीबद्ध गरेको छ। यो समूह अमेरिकी सैन्य बलहरूमा भएको रकेट आक्रमणमा संलग्न भएको र इरानसँगको निष्ठाको लागि चिनिएको छ।
हरकत अल-नुजबा: यो समूह पनि इरानसँग सम्बद्ध छ र इराक र सिरियामा लडेको छ। यो अमेरिकी सेनामा आक्रमणमा संलग्न रहेको विश्वास छ। अमेरिकाले यसलाई २०१९ मा आतंककारी संगठनको रूपमा सूचीबद्ध गरेको थियो।
यी तीनै समूहहरू इरानको क्षेत्रीय प्रभाव रणनीतिका प्रमुख पात्रहरू मानिन्छन् ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com