नेपाल इजरायल डट कम जेरुसलेम । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए), राष्ट्रिय समन्वय परिषद् (एनसीसी) इजरायलले आयोजना गरेको खुला अन्तर्राष्ट्रिय वक्तृत्वकला प्रतियोगितामा क्यानडाकी रोचना घिमिरेले उत्कृष्ट प्रस्तुति दिएर प्रथम स्थान हासिल गरेकी छिन्। शनिवार भर्चुअल माध्यमबाट सम्पन्न प्रतियोगितामा उनले रु २ लाख नगद पुरस्कार जितिन्।
पोल्यान्डकी जस्मिन बेगमले दोस्रो स्थान हात पार्दै रु १ लाख नगद पुरस्कार जितिन् भने रसियाकी समिरा केसीले तेस्रो स्थानमा रहँदै रु ५० हजार नगद पुरस्कार प्राप्त गरिन्। जापानकी एरिका सापकोटाले सान्त्वना पुरस्कार स्वरूप रु ३० हजार नगद जितिन्।
१७ वर्ष सम्मका र १८ देखि ४० वर्षसम्मका गरी दुई वर्गमा विभाजन गरिएको सो प्रतियोगिताको निर्णायक मण्डलमा साहित्यकार तथा एनआरएनएका पूर्व अध्यक्ष जीवा लामिछाने, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, र पूर्व मिस नेपाल सुगरिका केसी रहेका थिए। विभिन्न देशबाट ३० जना सहभागी बनेका यस कार्यक्रममा ओजस्वी आचार्य र पेन्सा रेग्मी अतिथि वक्ताका रूपमा सहभागी भए।
कार्यक्रमको विशिष्ट अतिथिहरूमा इजरायलका लागि नेपाली राजदूत महामहिम धन प्रसाद पण्डित, एनआरएनएका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्व अध्यक्षहरू जीवा लामिछाने, कुमार पन्त, वर्तमान अध्यक्ष डा. बद्री केसी, उपाध्यक्ष रामशरण सिम्खडा तथा संस्थापक सदस्यहरू भीम उदास र राम प्रताप थापा लगायतका व्यक्तित्वहरु रहनु भएको थियो ।
सङ्घका अध्यक्ष डा. बद्री केसीले प्रतियोगिताले नेपाली भाषा र संस्कृतिको प्रवर्धनमा महत्त्वपूर्ण योगदान पुर्याएको उल्लेख गरे। उनले विजेताहरूलाई बधाई दिँदै, दोस्रो पुस्ताका नेपाली युवाहरूको उत्साहपूर्ण सहभागिताप्रति खुसी व्यक्त गरे।
एनआरएनए इजरायलका अध्यक्ष तथा कार्यक्रमका सभापति श्रीकृष्ण भण्डारीले विदेशमा रहेका नेपालीहरूको प्रतिभा उजागर गर्न तथा उनीहरूलाई एउटै मञ्चमा जोड्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको बताए। उनले कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्दै यस्ता कार्यक्रमले गैर आवासिय नेपालीहरूको राष्ट्र प्रेमको भावना अभिवृद्धि हुने विश्वास व्यक्त गरे।
अतिथिको रुपमा बोल्दै महामहिम राजदूत धनप्रसाद पण्डितले प्रतियोगितामा सहभागी वक्ताहरूको स्वदेश प्रेमको प्रशंसा गर्दै परदेशमा आर्जन गरेको ज्ञान, सिप र दक्षतालाई नेपालमा भित्र्याउनु पर्ने कुरामा जोड दिनु भयो । उहाँले कोरिया युद्धले शिथिल भएको अर्थतन्त्र कसरी त्यस देशका जनताले कपाल समेत विक्री गरेर छिटै उकास्न सफल भए भन्ने उदाहरण दिँदै नेपालले पनि कृषि पर्यटन र सूचना प्रविधिको विकासमा जोड दिएर विश्व बजारमा प्रस्तुत हुनुपर्ने आवश्यकता प्रकाश पार्नु भयो ।
एनआरएनए इजरायलको १७औँ वार्षिकोत्सवको अवसरमा आयोजित यो प्रतियोगिता नेपाली भाषा, संस्कृति, र वक्तृत्वकलाको प्रवर्धन गर्ने एउटा ठुलो अवसर बनेको छ। कार्यक्रमको संयोजन चित्र बहादुर कार्कीले गरेका थिए। कार्यक्रमको सञ्चालन पत्रकार समा थापाले गरेकी थिइन् ।यस प्रतियोगिताका विजयी हुनेहरुमा चारै जना महिला प्रतियोगीहरु हुनुहुन्थ्यो ।
यस प्रतियोगिताले गैर आवासीय नेपाली समाजमा भाषा, संस्कृति, र प्रतिभाको प्रवर्द्धन गर्दै एकता र पहिचानको भावनालाई अझ सशक्त बनाएको छ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com