काठमाडौं – हमासको कब्जामा रहेका भनिएका नेपाली विद्यार्थी विपिन जोशीलाई सकुशल मुक्त गराउन नेपाल सरकारको कूटनीतिक प्रयासले नयाँ गति लिएको छ। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जोशीको रिहाइका लागि मध्यस्थकर्ताको भूमिका खेलिरहेका कतार र इजिप्ट सरकारलाई विशेष आग्रह गरेकी छन्।
आज परराष्ट्र मन्त्रालयमा नेपालका लागि इजिप्टकी राजदूत नोहा हमदी अहमद एलगेबलीसँग भेट गर्दै मन्त्री देउवाले नेपालको गहिरो चासो व्यक्त गरिन्। उनले इजिप्ट सरकारलाई यो मानवीय विषयमा सक्दो सहयोग गर्न आग्रह गरिन्।
यसैगरी, मन्त्री देउवाले कतारका राजदूत मिसाल मोहम्मद अल अन्सारीसँग फोनमार्फत सम्पर्क गरी जोशीको रिहाइका लागि विशेष पहल गर्न आग्रह गरेकी छिन्। कतारका राजदूतले यो आग्रहलाई कतारी विदेशमन्त्रीसम्म पुर्याउने आश्वासन दिएका छन्।
हालै हमासले आफ्नो नियन्त्रणमा रहेका ३४ जनालाई रिहा गर्ने समाचारले नेपाल सरकारलाई सक्रिय बनाएको छ। परराष्ट्रमन्त्री देउवाले यसअघि पनि नेपालका लागि इजरायली राजदूतमार्फत इजरायल सरकारसँग जोशीको रिहाइको विषय उठाइसकेकी थिइन्।
सरकारले यो गम्भीर मानवीय विषयलाई प्राथमिकतामा राख्दै सबै सम्भावित कूटनीतिक च्यानलमार्फत प्रयास जारी राखेको परराष्ट्र मन्त्रालयले जनाएको छ। विपिन जोशीको सकुशल रिहाइका लागि सरकारको यो प्रयासले थप सकारात्मक परिणाम ल्याउने विश्वास गरिएको छ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com