नेपाल इजरायल डट कम –
च्याटजीपीटीले दुई अर्ब रुपैयाँभन्दा बढीमा खरिद गरेको डोमेन ‘च्याट डटकम’ नेपालमा प्रतिबन्धित रहेको पाइएको छ।
च्याटजीपीटी ओपनएआईले १ करोड ५० लाख अमेरिकी डलर (नेपाली रूपैयाँमा झन्डै २ अर्ब) तिरेर chat.com डोमेन खरिद गरेको भए पनि नेपालमा यो साइट प्रतिबन्धित सूचीमा रहेको छ। नेपालका अधिकांश इन्टरनेट सेवाप्रदायकबाट यस साइटमा पहुँच गर्न खोज्दा प्रतिबन्धसम्बन्धी सन्देश देखिन्छ।
प्रतिबन्धको कारण
नेपालको दूरसञ्चार प्राधिकरणका अनुसार, च्याट डटकमलाई अश्लील सामग्री प्रदान गर्ने साइटका रूपमा वर्गीकृत गरिएको छ। मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा १२१ अन्तर्गत अश्लील सामग्रीविरुद्धको व्यवस्थाका आधारमा यो प्रतिबन्ध लगाइएको हो।
यस विषयमा प्राधिकरणको सूचनामा भनिएको छ:
“तपाईंले ब्राउज गर्न खोज्नुभएको वेबसाइटमा मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा १२१ तथा अन्य प्रचलित कानुनले बन्देज लगाएको सामग्री रहेको हुँदा नेपाल सरकार तथा नियामक निकायको निर्देशनअनुसार पहुँच रोकिएको छ।”
अश्लील साइटमाथिको नीति
२०७५ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा बलात्कार र यौनजन्य हिंसा न्यूनीकरण गर्ने उद्देश्यले अश्लील सामग्री भएका वेबसाइटमाथि प्रतिबन्ध लगाउने निर्णय गरिएको थियो। त्यसयता, विभिन्न इन्टरनेट सेवाप्रदायकले नियामक निकायको निर्देशनअनुसार यस्ता साइटहरूको पहुँच रोक्दै आएका छन्।
ओपनएआईले chat.com खरिद गर्नु अगाडि यो एक भिडिओ च्याट वेबसाइट थियो, जसमा प्रयोगकर्ताहरूले अपरिचित व्यक्तिहरूसँग भिडिओ कल गर्न सक्थे। वेबसाइटमा ५० लाखभन्दा बढी सक्रिय प्रयोगकर्ता रहेको बताइन्छ।
ओपनएआईले च्याटजीपीटीलाई अझ सहज रूपमा पहुँचयोग्य बनाउने योजनासहित chat.com खरिद गरेको हो। यसअघि, च्याटजीपीटी ब्राउज गर्न chat.openai.com/chat प्रयोग गर्नुपर्ने हुन्थ्यो, जुन पछि chatgpt.com मा सर्नुका साथै अहिले chat.com पनि chatgpt.com मा रिडाइरेक्ट हुने बनाइएको छ।
नेपालमा समस्या
नेपालमा chat.com प्रतिबन्धित रहेकाले यो साइट chatgpt.com मा रिडाइरेक्ट हुन सक्दैन। यसले गर्दा नेपाली प्रयोगकर्ताहरूलाई च्याटजीपीटी प्रयोग गर्न बाधा पुगेको छ।
दूरसञ्चार प्राधिकरणका निर्देशक विजयकुमार रोयले यस विषयमा थप जानकारी लिनुपर्ने बताए।
“यो मुद्दाबारे बुझेर मात्रै विस्तृत जानकारी दिन सक्छु,” उनले भने।
ओपनएआईको नयाँ रिब्रान्डिङ प्रयासका कारण नेपालमा यो विवाद उत्पन्न भएको हो। अब यस प्रतिबन्धको पुनरावलोकन गरिन्छ वा पुरानै अवस्थामा रहनेछ भन्ने टुंगो लाग्न बाँकी छ।
यो पनि पढ्नुहोस
च्याटजीपीटीले २ अर्ब बढी तिरेर किन्यो ‘च्याट डटकम’ डोमेन
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com