टर्कीले इजरायली राष्ट्रपति इसहाक हर्जोगको विमानलाई आफ्नो हवाई मार्ग प्रयोग गर्न अस्वीकार गरेको समाचार सार्वजनिक भएको छ। राष्ट्रपति हर्जोग अजरबैजान जाने क्रममा टर्कीको हवाई क्षेत्र प्रयोग गर्न इजरायलले अनुमति मागेको थियो, तर टर्कीले सो आग्रह अस्वीकार गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ।
इजरायली सरकारका अनुसार, हर्जोगको विमानले नोभेम्बर दोश्रो हप्तामा शुरू भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय फ्रेमवर्क कन्भेन्सनको २९औं सम्मेलन (कोप २९) मा सहभागी हुन टर्कीको हवाई क्षेत्र प्रयोग गर्न अनुमति मागेको थियो। तर, टर्कीका अधिकारीहरूले यसलाई अस्वीकार गरेको समाचारमा उल्लेख छ। टाइम्स अफ इजरायलले भने सुरक्षाको कारण हर्जोगले अजरबैजान भ्रमण रद्द गरेको दाबी गरेको छ।
टर्की र इजरायलबीचको सम्बन्ध सन् २०१० देखि तनावपूर्ण रहेको छ, मुख्यतः प्यालेस्टाइन मुद्दाका कारण। टर्कीले गाजा र प्यालेस्टाइनको पक्षमा समर्थन जनाउँदै आएको छ, जबकि इजरायलले टर्कीका कदमहरूको आलोचना गर्दै आएको छ। पछिल्लो समय, इजरायलले गाजामा गरिरहेको आक्रमणको टर्कीले कडा विरोध गर्दै इजरायलसँगको ९० प्रतिशत व्यापार स्थगित गरेको पनि बताइएको छ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com