नेपाल इजरायल डट कम, तेल अभिभ । हमासद्वारा अपहरित नेपाली विद्यार्थी विपिन जोशी र अन्य बन्धकहरूको रिहाइको माग गर्दै तेल अभिभमा हजारौं इजरायलीले प्रदर्शन गरेका छन्। प्रार्थनासहितको यो प्रदर्शनमा जोशीको तस्बिर अंकित प्लेकार्ड बोकेर सहभागीहरूले हमासद्वारा बन्दी बनाइएका सबै व्यक्तिको स्वतन्त्रताको माग गरे।

शनिबार तेल अभिभ स्क्वायरमा आयोजित कार्यक्रममा इजरायलका लागि नेपाली राजदूत प्रा. धनप्रसाद पण्डितसहित इजरायलका लागि अमेरिकी राजदूत ज्याक लेउ, ब्रिटिस राजदूत सिमोन वाल्टर्स, जर्मन राजदूत स्टेफन सेबर्ट लगायत उपस्थित थिए। राजदूत पण्डितले आफ्ना समकक्षीसँग भेटघाट गर्दै विपिनको रिहाइका लागि पहल गर्न आग्रह गरेका थिए।
कार्यक्रममा अमेरिकी राजदूत ज्याक लेउले आफ्नो कार्यकालको अन्तिम दिनहरूमा पनि यो मुद्दालाई प्राथमिकतामा राखेर इजरायलस्थित अमेरिकी दूतावासलाई निर्देशन दिएको जानकारी दिए। ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हाल्नुअघि नै हमास–इजरायलबीच युद्धविराम र बन्दी रिहाइ हुने सम्भावनाका बीच १ वर्षदेखि जारी प्रार्थनासहितको प्रदर्शन अन्तिम हुने ठानिएको छ ।

हाल हमास र इजरायलबीच युद्धविरामका लागि वार्ता चलिरहेको छ। हमासले ३४ बन्दीहरूको रिहाइ गर्ने सूची सार्वजनिक गरे पनि त्यसमा विपिनको नाम समावेश नभएको जानकारी आएको छ।
प्रदर्शनमा सहभागी केही इजरायलीहरूले नेपाल भ्रमणको स्मरण गर्दै विपिनप्रति गहिरो सहानुभूति व्यक्त गरे। “नेपालसँग हाम्रो आत्मीय सम्बन्ध छ, र विपिनजस्ता निर्दोष विद्यार्थीको अपहरणमा हामी दु:खी छौं,” उनीहरूले भने।
प्रार्थना र प्रदर्शनले हमासद्वारा अपहरितहरूको रिहाइको मागलाई अझ बलियो बनाएको छ। यो आन्दोलनले अब अन्तर्राष्ट्रिय स्तरमै मानवीय चासो र कूटनीतिक प्रयासलाई प्राथमिकता दिने आशा गरिएको छ।

नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com