नेपालले दुई दशकदेखि इजरायलमा कामदार पठाउँदै आए पनि औपचारिक रूपमा आप्रवासी कामदार भित्र्याउने स्रोत देशको सूचीमा पर्न सकेको छैन। इजरायलले नेपालसहित थाइल्यान्ड, फिलिपिन्स, चीन, भारत र श्रीलंकाबाट कामदार लिए पनि नेपाललाई सूचीबाहिर राख्दै आएको छ।
नेपालबाट बारम्बार कूटनीतिक पहल भए पनि इजरायलले वार्षिक तीन हजारभन्दा कम कामदार लिने देशलाई स्रोत देशको सूचीमा नराख्ने नीति रहेको श्रम मन्त्रालयले जनाएको छ।
हाल नेपालबाट वार्षिक करिब १,५०० कामदार इजरायल जाने गरेको तथ्यांक छ ।
यसै सन्दर्भमा, श्रममन्त्री शरत्सिंह भण्डारीले इजरायली राजदूत सुमलिक एरी बाससँगको भेटमा नेपाललाई स्रोत देशमा सूचीकृत गर्न र नेपाली कामदारको सुरक्षा र सुविधा बढाउन आग्रह गरेका छन्। इजरायली पक्षले यसबारे सकारात्मक संकेत दिएको छ।
हाल २,११२ नेपाली केयर गिभरका रूपमा इजरायल जान छनोट भएका छन्। नेपालले कृषि, स्वास्थ्य, र निर्माण क्षेत्रमा वार्षिक ३,००० भन्दा बढी कामदार पठाउने लक्ष्यसहित इजरायलसँग छलफल गरिरहेको छ। प्रक्रिया अघि बढाउन परराष्ट्र र श्रम मन्त्रालय सक्रिय छन्।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com