वासिङ्टन – अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले गैरकानुनी आप्रवासीविरुद्ध कठोर कदम उठाउँदै अमेरिकी सेनाको प्रयोगमार्फत सामूहिक निर्वासन गर्ने योजना बनाएका छन्। सोमबार ट्रम्पले सीमा सुरक्षामा राष्ट्रिय आपतकाल घोषणा गर्ने र कागजातविहीन लाखौं आप्रवासीलाई देश निकाला गर्ने तयारीमा रहेको बताए।
राष्ट्रपति जो बाइडनको प्रशासनकालमा बढेको गैरकानुनी आप्रवासीहरूको संख्यालाई लक्षित गर्दै ट्रम्पले मेक्सिकोसँगको दक्षिणी सीमालाई थप व्यवस्थित बनाउने र लाखौं कागजातविहीन आप्रवासीलाई फिर्ता पठाउने योजना अघि सारेका छन्।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म *ट्रुथ सोसल* मा एक कन्जरभेटिभ कार्यकर्ताको पोस्ट साझा गर्दै यो योजना ‘साँचो’ भएको पुष्टि गरेका छन्। पोस्टमा ट्रम्पले सामूहिक निर्वासन कार्यक्रम अघि बढाउन राष्ट्रिय आपतकाल घोषणा गर्न तयार रहेको उल्लेख गरिएको थियो।
ट्रम्पले आप्रवासनबारे कट्टर सोच राख्ने टम होमनलाई आफ्नो ‘सीमा जार’ का रूपमा नियुक्त गर्दै यस मुद्दामा दृढ कदम चाल्ने संकेत दिएका छन्। उनले आफ्नो क्याबिनेटमा आप्रवासन नियन्त्रणमा कट्टरपन्थी सोच राख्ने व्यक्तिहरूलाई समावेश गरेका छन्।
उनले रिपब्लिकन नेसनल कन्भेन्सनमा भनेका थिए, “मैले बाइडन प्रशासनले भित्र्याएका लाखौं गैरकानुनी आप्रवासीलाई फिर्ता पठाउनेछु।”
संयुक्त राज्य अमेरिकामा करिब १ करोड १० लाख मानिस गैरकानुनी रूपमा बसिरहेका छन्। ट्रम्पको सामूहिक निर्वासन योजनाले झन्डै २ करोड परिवारमा प्रत्यक्ष असर पार्ने अनुमान गरिएको छ।
चुनावी अभियानका क्रममा ट्रम्पले बारम्बार आप्रवासन मुद्दालाई प्राथमिकतामा राख्दै *“एलियन एनिमिज एक्ट १७९८”* जस्ता पुराना कानुनलाई पुनः लागू गर्ने वाचा गरेका थिए। उनले गैरकानुनी आप्रवासीलाई बलात्कार र हत्या जस्ता अपराधसँग जोड्दै उनीहरूलाई अमेरिकाका लागि खतरा रहेको दाबी गरेका छन्।
ट्रम्पको यो योजना कसरी लागू हुनेछ भन्ने विषयमा विस्तृत विवरण नआए पनि अमेरिकी राजनीतिमा यसले ठूलो बहसको सुरुवात गराएको छ। राष्ट्रिय आपतकाल र सेनाको प्रयोगजस्ता कदमहरूले नीतिगत, कानुनी, र मानवअधिकारका सवालहरू खडा गर्ने निश्चित छ।
ट्रम्पको निर्वासन योजनाले अमेरिका र मेक्सिकोको सीमा व्यवस्थापनलाई थप जटिल बनाउने अनुमान गरिएको छ। अहिले यो कदमलाई सहयोग गर्नेहरू र विरोध गर्नेहरूबीच चर्को बहस सुरु भइसकेको छ
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com