एक अन्तर्राष्ट्रिय प्रतियोगिताका क्रममा आयरल्यान्को महिला बास्केटबल टोलीका खेलाडीले इजरायलका खेलाडीसँग हात मिलाउन अस्वीकार गरेका छन् । रिगामा जारी युरो महिला बास्केटबलको छनोट खेलअघि आयरल्यान्डका खेलाडीले इजरायलका खेलाडीसँग हात मिलाउन अस्वीकार गरेका हुन् ।
आयरल्यान्डका खेलाडीको ब्यवहारबाट आफूहरु स्तब्धः भएको इजरायलका खेलाडीले जनाएका छन् । इजरायलका खेलाडीले आयरल्यान्डका खेलाडी यहुदी विरोधी भएको आरोप पनि लगाएका छन् ।
‘उनीहरुको ब्यवहारबाट हामी दुःखी छौँ । वास्तबमा आयरल्यान्डका खेलाडी यहुदी विरोधी हुन्,’ इजरायलकी खेलाडी डोर सारले भनेकी छन् । इजरायलका खेलाडीको टिप्पणी सार्वजनिक भएलगत्तै बास्केटबल आयरल्यान्डले पनि खरो जवाफ फर्काएको छ ।
बास्केटबल आयरल्यान्डले इजरायली खेलाडीको टिप्पणी ‘पूर्णरुपमा गलत र भड्काउने खालको’ भएको प्रतिक्रिया दिएको छ । आयरल्यान्डका खेलाडीहरु प्रतियोगिता सुरु हुनुअघि आयोजना गरिने पत्रकार सम्मेलनमा पनि उपस्थित भएनन् ।
आयरल्यान्डका खेलाडीहरु राष्ट्रिय गान बज्दा पनि कोर्टमा गएका थिएनन् । राष्ट्रिय गान बज्दा उनीहरु खेलाडीहरु बस्ने बेञ्चको छेउमा उभिएका थिए । उक्त छनोट खेलमा इजरायलले आयरल्यान्डलाई ८७–५७ अंकले हराएको थियो ।
इजरायलद्वारा गाजामा भइरहेको आक्रमणका कारण मानवअधिकारको ब्यापक हनन भएको भन्दै आयरल्यान्डका खेलाडीले इजरायलका खेलाडीसँग हात मिलाउन अस्वीकार गरेका हुन् ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com