नेपाल इजरायल डट कम (जेरुसलेम)। गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए-एनसीसी) इजरायलले नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसर पारेर आगामी ६ सेप्टेम्बर २०२४ मा तिज विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ ।
उक्त कार्यक्रममा नेपालबाट आमन्त्रित कलाकारहरूको साथमा तिजको दर लगायत , नाच्न गाउन र रमाउन इजरायलमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरू तथा क्रियाशील सङ्घ संस्थाहरू, समाजसेवीहरू, सञ्चार कर्मीहरू लगायतका इजरायलमा रहेका सम्पूर्णमा जानकारी गराउँदै उपस्थितिको लागि हार्दिक अनुरोध गरिएको छ ।
गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए-एनसीसी) इजरायलको २६ मार्च २०२४ मा बसेको कार्यसमितिको नियमित बैठकमा तीज विशेष कार्यक्रम आयोजना गर्ने निर्णय भएको भन्दै संस्थाले फेसबुकमा एक प्रेस विज्ञप्ति निकालेर इजरायलमा रहनु भएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूलाई सो ब्यहोरा अवगत गराएको हो ।
साथै फेसबुकमा जारी प्रेस विज्ञप्तिमा इजरायलमा भएका कुनै पनि सङ्घ संस्थाहरुले उक्त दिनको कार्यक्रमलाई असर पर्ने गरी पार्टी ,भ्रमण तथा कुनै पनि किसिमका सार्वजनिक कार्यक्रमहरू नराखी तीज कार्यक्रममा सहभागी भइदिएर सफल बनाउनको लागि अनुरोध पनि गरेको छ । एनआरएनए एनसीसी इजरायलका महासचिव अलि मुहम्मद मियाद्वारा हस्ताक्षरित विज्ञप्तिका अनुसार साँझ ६ देखि ७ बजे सम्म दर खाने समय राखिएको छ भने औपचारिक कार्यक्रम ७:३० बाट सञ्चालन हुनेछ ।
गत चैत सर्वोच्च अदालतले विश्वभरि छरिएर रहेका नेपालीहरूको छाता सङ्गठन एनआरएनए को दुवै केन्द्रीय समिति खारेज गरेपछि गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) मा नेतृत्व गरेका बद्री केसी र आरके शर्मा दुवै कार्यसमिति अमान्य ठहर भएको थियो ।
यद्यपि छ महिनाभित्र चुनाव गराउने गरी भएको सो खारेजीले राष्ट्रिय समन्वय परिषदहरुलाई भने कुनै असर गरेको छैन । त्यसमाथि इजरायलको गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् इजरायल भने इजरायल सरकारमा आधिकारिक रूपमा दर्ता भइसकेको छ ।
यो पनि पढ्नुहोस् –
इजरायलमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परीषद इजरायल विधिवत रुपमा दर्ता
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com