नेपाल इजरायल डट कम / हमासले अपहरण गरेर लगेका बन्धकहरु फिर्ता गराउनको लागि इजरायलले जुनसुकै उपाय अपनाउन पछि परेको छैन । युद्धमा गाजा पुरै तहस नहस गरी सक्दा पनि सबै बन्धकहरुलाई इजरायलले रिहा गर्न सकेको छैन । अझै १०३ जना इजरायली र विदेशी नागरिकहरु हमास र अन्य कट्टरपन्थी समूहहरुको कब्जामा रहेका छन ।
इजरायलका प्रधानमन्त्रीले अब उनीहरूको रिहाइका लागि पुरस्कारको घोषणा गरेका छन् भने बन्धकलाई चोट पुर्याउने जोकोहीलाई सजाय दिने वाचा पनि गरेका छन्।
जसले एकजना बन्धकलाई फिर्ता ल्याउँछ, ५० लाख डलर र युद्धबाट प्रभावित क्षेत्रबाट सुरक्षित रुपमा बाहिर निस्कन मौका दिनेछ, प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मंगलबार घोषणा गरे।
“यो झमेलाबाट बाहिर निस्कन चाहनेलाई म भन्छु: जसले बन्धक ल्याउँछ, उसलाई र उसको परिवारलाई हामी सुरक्षाको ग्यारेण्टी गर्नेछौं ” प्रधानमन्त्रीले भने। “हामी हरेक बन्धकका लागि ५० लाख डलर पनि पुरस्कार दिनेछौं। अहिले नै पुरस्कार सहित सुरक्षित रुपमा बन्धकहरु फिर्ता गरेर पुरस्कार लिने कि अझै पर्खने … छनोट तपाईंकै हो, तर परिणाम उस्तै हुनेछ, हामी सबैलाई फिर्ता ल्याउनेछौं।“
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र रक्षामन्त्री इजरायल काट्जले मंगलबार गाजाको तटीय क्षेत्रको निरीक्षण गर्दै युद्धपछि हमासले अब फिलिस्तिनी क्षेत्रमाथि शासन नगर्ने बताएका छन । इजरायल रक्षा बलका स्टाफ प्रमुख हर्ज़ी हालेवी र शिन बेट सुरक्षा एजेन्सीका प्रमुख रोनेन बारसहित रक्षामन्त्री काटजले नेटजारिम करिडोर क्षेत्रमा भ्रमण गरे। यो मार्ग अहिले इजरायलको नियन्त्रणमा छ, जसले गाजा स्ट्रिपको उत्तरी र दक्षिणी भागलाई विभाजन गर्छ।
नेतन्याहुको कार्यालयले एक वक्तव्यमा भनेको छ कि यी दुई नेताले उक्त करिडोरको अवलोकन बिन्दुमा सैन्य कमाण्डरहरूबाट सञ्चालन क्रियाकलापहरूको जानकारी लिए र “गाजाको तटीय क्षेत्रबारे कमाण्डरहरूसँग छलफल गरे।“
नोभेम्बर ९ मा, हमास र इजरायलबीच बन्धक–युद्धविराम सम्झौतामा मध्यस्थता गर्दै आएको कतारले दुवै पक्षबाट इमान्दारीको अभावका कारण आफ्नो प्रयास स्थगित गरेको घोषणा गरेको थियो।
पछिल्लो अक्टोबरमा हमासद्वारा भएको आक्रमणपछि सुरु गरिएको इजरायली सैन्य आक्रमणले गाजामा व्यापक विनाश गरेको छ। गाजाका स्वास्थ्य अधिकारीहरूका अनुसार, एक वर्षभन्दा लामो यस द्वन्द्वमा ४३,९०० भन्दा बढी फिलिस्तीनीहरूको मृत्यु भएको छ।
नेपालका एक विद्यार्थी विपिन जोशी अझै पनि गाजामा बन्धक रहेका छन । इजरायली या विदेशी नागरिक कुनै पनि बन्धकलाई फिर्ता ल्याउनेलाई ५० लाख डलर दिने प्रधानमन्त्रीको यो घोषणा संगै विपिन जोशी पनि फिर्ता हुनेछन कि भन्ने आशा पलाएको छ ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com