इजरायल र लेबनानको सशस्त्र समूह हिजबुल्लाहबीच युद्धविराम सम्झौता लागु भएपछि दक्षिणी लेबनानका नागरिकहरू पुनः घर फर्किन थालेका छन्। अमेरिकी राष्ट्रपति जो बाइडेनले युद्धविरामको घोषणा गर्दै तत्काल कार्यान्वयन गर्न आग्रह गरेपछि इजरायलले सहमति जनाउँदै सम्झौता स्वीकार गरेको हो।
तर, इजरायलले आफ्नो उत्तरी क्षेत्रका विस्थापित नागरिकलाई घर फर्किन अझै अनुमति दिएको छैन। यसैबीच, बीबीसीले दक्षिणी लेबनानका हजारौँ विस्थापित नागरिकले घर फर्कन थालेको जनाएको छ। राजमार्गमा नागरिकहरू उत्साहका साथ यात्रा गरिरहेको दृश्यसमेत समाचारमा उल्लेख छ। लेबनान-इजरायल सीमावर्ती गाउँबाट ठूलो संख्यामा मानिसहरू विस्थापित भएका थिए।
गत अक्टोबरमा प्यालेस्टाइनको विद्रोही समूह हमासले इजरायलमा आक्रमण गरी १,२०० भन्दा बढी मानिसको ज्यान लिएपछि इजरायलले गाजामा विनाशकारी आक्रमण गर्यो। यसैको प्रतिरोधमा हिजबुल्लाहले इजरायलमा मिसाइल आक्रमण शुरू गरेको थियो। यसक्रममा इजरायलले लेबनानका विभिन्न सहरहरूमा दिनहुँ हवाई र मिसाइल आक्रमण गरेको थियो। इजरायली सेना लेबनानी भूमिमा प्रवेश गरेर आक्रमण सुरु गरेपछि युद्ध झन् चर्किएको थियो। एक वर्षको अवधिमा इजरायली आक्रमणबाट ४,००० भन्दा बढी लेबनानी नागरिकले ज्यान गुमाएका छन्।
युद्धविराम सम्झौताअनुसार, इजरायली सेना दक्षिणी लेबनानबाट फिर्ता हुनेछन्। हिजबुल्लाहले पनि लितानी नदीको दक्षिणी क्षेत्रबाट आफ्ना सशस्त्र समूह फिर्ता गर्ने प्रतिबद्धता जनाएको छ।
युद्धविराम उल्लङ्घन भएमा कठोर कारबाही गरिने चेतावनी इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले दिएका छन्। हिजबुल्लाहले भने यसलाई आफ्नो विजयको रूपमा प्रस्तुत गरेको छ। यद्यपि, प्रधानमन्त्री नेतान्याहुले सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्दै हिजबुल्लाहलाई केही वर्षसम्म उठ्न नसक्ने गरी कमजोर बनाएको दाबी गरेका छन्।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com