नेपाल इजरायल डट कम ।
बैतडीकी हिमश्वेता भट्ट गत वर्ष इजरायलमा “लर्न एन्ड अर्न” कार्यक्रमअन्तर्गत कृषि विज्ञानमा अनुभव प्राप्त गर्न उत्साहका साथ पुगिन्। इजरायलको अत्याधुनिक कृषि प्रविधिबारे सिक्न पाउँदा उनी निकै उत्साहित थिइन्। तर उनको यात्रा लामो टिकेन। अक्टोबर महिनामा हमास समूहले इजरायलमा आक्रमण गरेपछि परिस्थितिहरू अचानक बिग्रियो। इजरायलका विभिन्न क्षेत्रमा आक्रमण भएपछि नेपाली विद्यार्थीहरूको सुरक्षा संकटमा परेको थियो। सँगै गएका उनका केही साथीले यो आक्रमणमा ज्यान गुमाए भने एक साथी विपिन जोशी अझै बेपत्ता रहेका छन्।
हिमश्वेता भट्टको यात्रा, साहस र संघर्षको प्रेरणादायी कथा हो जसले २२ वर्षको कलिलो उमेरमै कृषि प्राविधिकतर्फको अधिकृत सातौँ तहमा नाम निकाल्न सफल भइन र अहिले कृषि अधिकृतको भूमिका सम्हालेकी छिन्, ।
इजरायलमा, आफू सुरक्षित रहनु एक चुनौती नै बन्यो। सुरक्षाका लागि साइरन बज्दा उनीहरूलाई पटकपटक सुरक्षित स्थानमा लुक्नुपर्थ्यो। बंकरमा जान नपरे पनि सधैं सतर्क रहनुपर्ने परिस्थितिमा उनले धेरै दिन बिताइन्। परिवारको कर र नेपाल सरकारले तुरुन्तै फिर्ता ल्याउन थालेपछि उनी पनि नेपाल फर्किन बाध्य भइन्।
नेपाल फर्केपछि हिमश्वेता कृषि प्रविधिमा हातेमालो गर्ने आफ्नो सपना पुरा नभएकोमा खिन्न थिइन्। तर उनले हरेस खाइनन्। उनले अनलाइन मार्फत इजरायलको इन्टर्नसिप र आफ्नो थेसिस पूरा गरिन्। यो घटनापछि हिमश्वेताले अध्ययनलाई निरन्तरता दिने योजना बनाउन थालिन्। अमेरिका जानु र त्यहाँको कृषि प्रविधिबारे थप अध्ययन गर्नु उनको अर्को लक्ष्य थियो।
तर, बुबा थिरेन्द्र भट्टले उनलाई विदेश जाने सल्लाह दिनुभन्दा लोक सेवामा प्रतिस्पर्धा गर्न प्रेरित गर्नुभयो। बुबाको प्रेरणाबाट हिमश्वेताले वाग्मती प्रदेश लोक सेवा आयोगद्वारा खोलेको कृषि अधिकृत पदमा आवेदन दिइन्। यो उनी आफ्नो जीवनको पहिलो लोक सेवा परीक्षा थियो। फारम बुझाउँदा उनले ढिला गरेकोले अतिरिक्त शुल्क तिरेर फारम भरिन्, तर उनको आत्मविश्वास उच्च थियो। काठमाडौंमा करिब सात महिना बसेर उनले लोक सेवा तयारीमा ध्यान केन्द्रित गरिन्।
उनको मेहनतले प्रतिफल दियो, र पहिलो प्रयासमै कृषि अधिकृतमा नाम निकाल्न सफल भइन्। यो सफलतासँगै उनले बकैया गाउँपालिकामा आफ्नो पद बहाल गरिन्, जहाँ उनलाई कृषिलाई प्राथमिकता दिएकोले आफ्ना ज्ञान र सीपले गाउँलाई कृषि क्षेत्रमा अघि बढाउन सहयोग गर्ने जिम्मेवारी आयो। अब उनले गाउँका कृषकलाई आधुनिक कृषि प्रविधिको ज्ञान दिनुका साथै कृषि सम्बन्धी कार्यक्रम र योजना निर्माणमा सघाउनु छ।
उनको बुबा, थिरेन्द्र भट्ट, जो बेदकोट नगरपालिकामा शिक्षक हुनुहुन्छ, छोरीको मेहेनत देखेर गर्व गर्नुभएको छ। हिमश्वेताले आफूलाई यो स्थानसम्म पुर्याउन परिवार र विशेषगरी बुबाको मिहिनेत र प्रेरणालाई महत्वपूर्ण मानेकी छिन्। सानैदेखि उनी पढाइमा मेधावी रहँदै आएकी थिइन्। विभिन्न विद्यालयमा अध्ययन गर्दै महेन्द्रनगरकै महाकाली बाल विद्यालय र रेडियन्ट उच्च माविबाट उनले एसएलसी उत्तीर्ण गरिन्। आईएस्सीपछि उनले चिकित्सा शिक्षा (एमबीबीएस) तर्फ अध्ययन गर्ने लक्ष्य राखेकी थिइन् तर छात्रवृत्तिमा नपरेपछि कृषि विज्ञान रोजिन्।
त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर अध्ययन गरिरहेकी हिमश्वेताले सुदूरपश्चिम विश्वविद्यालयका १० जना विद्यार्थीहरूले ज्यान गुमाएको घटनाले उनी बेलाबेला झस्किने बताउँछिन्। इजरायलको यात्रा दौरान उनको बसाइ घटनास्थलबाट केही पर भएकोले उनी प्रत्यक्ष रूपमा जोखिममा परिनन्, तर पनि साइरनको आवाज, आक्रमणको त्रास अझै उनको मनमा बसेको छ। अहिले उनलाई इजरायलको त्यो भोगाइले साहस र धैर्य सिकाएको छ।
हिमश्वेताले बकैया गाउँपालिकामा आफ्नो पहिलो भूमिका कृषि क्षेत्रमा थप प्रभावकारी योजनाहरू बनाउने र कृषकलाई प्राविधिक सहयोग पुर्याउने चाहनासहित सुरु गरेकी छिन्। उनका अनुभव र उनको साहसले नेपाली युवाहरूलाई अन्योल र कठिनाइहरूमा पनि निरन्तर आफ्नो सपनालाई पछ्याउने प्रेरणा दिएको छ।
सूचना प्रविधिका साथै कला र साहित्यमा रुचि राख्ने कृष्णपक्ष थापा इजरायलको जेरुसलेममा कार्यरत छन ।