काठमाडौं – नेपाली विद्यार्थी विपिन जोशीको रिहाइको विषयमा नेपालले निरन्तर चासो देखाएको छ। आइतबार नेपालका सभामुख देवराज घिमिरे र नेपालका लागि इजरायली राजदूत श्मुलिक आरी बासबीच शिष्टाचार भेटवार्ता भएको थियो। भेटमा जोशीको सकुशल रिहाइको लागि इजरायली पक्षले पहल गर्नुपर्ने विषयलाई प्राथमिकताका साथ उठाइएको थियो।
सभामुख घिमिरेले राजदूत बासलाई सफल कार्यकालको शुभकामना दिँदै नेपाल–इजरायल सम्बन्ध अझ बलियो बनाउने विश्वास व्यक्त गरे। साथै, हमासको नियन्त्रणमा रहेको भनिएका नेपाली विद्यार्थी विपिन जोशीलाई प्राथमिकतामा राखेर सकुशल उद्धारको पहल गर्न आग्रह गरे। “महामहिममार्फत विपिनको अवस्था सार्वजनिक गरिनुपर्छ र उनको रिहाइ प्राथमिकतामा राखिनुपर्छ,” सभामुख घिमिरेले भने।
नेपाल-इजरायल सम्बन्ध र सहकार्यको चर्चा
नेपाल र इजरायलबीच सन् १९६० मा स्थापना भएको द्विपक्षीय सम्बन्धबारे चर्चा गर्दै सभामुखले इजरायलले नेपाललाई कृषि, श्रम, छात्रवृत्ति, तथा सुरक्षाका क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गरे। विशेष गरी ‘अर्न एन्ड लर्न’ कार्यक्रमअन्तर्गत नेपाली विद्यार्थीहरूले इजरायलमा सिक्दै कमाउने अवसर प्राप्त गरेको उनले उल्लेख गरे।
सभामुख घिमिरेले नेपाललाई शान्तिप्रेमी राष्ट्रका रूपमा प्रस्तुत गर्दै मध्यपूर्वमा स्थायित्व र शान्तिको पक्षमा रहेको धारणा राखे।
विपिनको रिहाइका लागि इजरायलको प्रयास
भेटमा इजरायली राजदूत बासले विपिन जोशीलाई सुरक्षित रूपमा छुटाउन इजरायलले भरपूर प्रयास गरिरहेको बताए। उनले जोशीको रिहाइका लागि नेपालले अन्तर्राष्ट्रिय समुदायसँग पनि सहयोग माग्नुपर्ने सुझाव दिए।
गत वर्ष अक्टोबर ७ मा हमासको आक्रमणमा परेका नेपालीमध्ये १० जनाले ज्यान गुमाएका थिए, भने विपिन जोशी अझै हराइरहेका छन्। उनको अवस्थाबारे नेपालले निरन्तर चासो राख्दै आएको छ।
भेटका क्रममा राजदूत बासले युद्धपछिको इजरायली जनजीवन क्रमशः सामान्य बन्दै गएको जानकारी दिए। साथै, इजरायलमा रहेका नेपाली विद्यार्थीहरूको सुरक्षाका लागि नेपाल सरकारले आवश्यक पहल गर्नुपर्ने सुझाव दिए।
इजरायली राजदूतले सभामुख घिमिरेलाई इजरायली समकक्षीको तर्फबाट औपचारिक भ्रमणको निमन्त्रणा समेत हस्तान्तरण गरेका थिए।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com