हमास युद्धविराम सम्झौता अन्तर्गत बन्धकहरूको रिहाइको तेस्रो चरणमा हमासले आज ३ इजरायली तथा ५ जना थाइ बन्धकहरूलाई रिहा गरिरहेको छ। गाजास्थित हमास सशस्त्र समूहले बिहिबार रेडक्रसलाई बन्धकहरु हस्तान्तरण गरेका हुन् । रिहाइ हुनेमा इजरायलका दुई महिला, अर्बेल येहुद (२९), अगम बर्गर (१९) र एक वृद्ध पुरुष, गाडी मोजेस (८०) रहेका छन्।

१९ बर्षिय अगम बर्गरले सबैभन्दा छिटो इजरायली भूमिमा पाइला टेकिन, ४८२ दिनपछि उनीहरु मुक्त भएका हुन् ।
यीबाहेक थाइल्याण्डका ५ नागरिकलाई पनि हमासको कैदबाट मुक्त हुदैछन । बन्धकहरूलाई दुई चरणमा रिहा गरिदै छ जसका लागि गाजाको खान युनिसमा हस्तान्तरण बिन्दु तय गरिएको छ । बदलामा इजरायलले ३०० भन्दा बढी प्यालेस्टिनीहरूलाई पनि रिहा गर्दैछ।
यसका साथै हमासले शनिबार ३ इजरायली बन्धकहरूलाई रिहा गर्ने छ। इजरायल र हमास बीचको १५ महिनाको युद्ध पछि जनवरी १९ मा युद्धविराम सुरु भएको थियो ।
युद्धविरामको अर्को चरणको बारेमा फेब्रुअरी ३ देखि छलफल हुने भएको छ। यसको उद्देश्य युद्धलाई स्थायी रूपमा अन्त्य गर्नु रहेको छ । आज ५ जना बिदेशी कामदार रिहा गरे संगै नेपालका विपिन जोशीको पनि रिहाई हुने आशा पलाएको छ । यस अघि हमासले उनीहरु संग भएका बन्धकहरुको नामावलीमा विपिन जोशीको पनि नाम समावेश थियो जसको आधारमा उनी जिवितै र सुरक्षित रहेको बिश्वास गरिएको छ ।
३ लाख प्यालेस्टिनीहरू उत्तरी गाजामा फर्किए
इजरायल-हमास युद्धको १५ महिना पछि, ३ लाखभन्दा बढी प्यालेस्टिनी नागरिकहरू रफाह सीमा र दक्षिण गाजा क्षेत्रबाट उत्तरी गाजा फर्किएका छन्। जनवरी २७ मा इजरायलले प्यालेस्टिनी नागरिकहरूलाई उत्तरी गाजामा फर्कन अनुमति दियो।
युद्ध सुरु भएपछि १० लाखभन्दा बढी मानिसहरू दक्षिणतिर सरेका थिए। अल जजीराको रिपोर्ट अनुसार गाजामा इजरायली आक्रमणमा ४७ हजारभन्दा बढीको मृत्यु भएको छ भने १.१० लाखभन्दा बढी घाइते भएका छन्।
युद्धविराम सम्झौता अन्तर्गत इजरायलले जनवरी २५ देखि प्यालेस्टिनीहरूलाई उत्तरी गाजामा फर्कन अनुमति दिने निर्णय गरेको थियो। यद्यपि इजरायल र हमास बीचको विवादका कारण दुई दिन ढिलाइ भयो।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com