नेपाल इजरायल डट कम – जेरुसलेम । नेपाली महिलाहरूको महान् पर्व हरितालिका तिजको अवसरमा गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् इजरायलले तीजको दर खाने तथा विविध सांस्कृतिक कार्यक्रम “तीज मेला” भव्य रुपमा सम्पन्न गरेको छ । इजरायलको तेल अभिभ स्थित एभरेस्ट नेपाली डिस्को क्लबमा कार्यक्रम सम्पन्न भएको हो ।
हरितालिका तिज तथा नेवार समुदायको चोथा:पुजा (२०८१) को पावन अवसरमा शुभकामना आदानप्रदान गर्ने उदेश्य सहित आयोजित तीज मेलामा इजरायलमा कार्यरत नेपालीहरुले उत्साहजनक रुपमा भव्य सहभागीता जनाएका थिए ।
नेपाली राजदूतावास इजरायलका कार्यवाहक राजदूत कुमार बहादुर श्रेष्ठ प्रमुख अतिथिका रूपमा उपस्थित सो कार्यक्रममा विशिष्ट अतिथि गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्य (आइसिसी) सदस्य विशाल ज्ञवाली लगायत इजरायलमा सक्रिय विभिन्न संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
एन आर एन ए (आइसिसी) सदस्य विशाल ज्ञवालीको स्वागत मन्तव्य सँगै आरम्भ गरिएको तीज मेलामा प्रमुख अतिथिको रूपमा आतिथ्य सम्हालेका नेपाली राजदूतावास इजरायलका कार्यवाहक राजदूत श्री कुमार बहादुर श्रेष्ठले इजरायलवासी सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईलाइ तीज तथा नेवारी समुदायको चोथा पर्वको अवसरमा शुभकामनाका दिनुका साथै कार्यव्यस्तताका वावजुद पनि नेपाली कला संस्कृतिलाई यसरी इजरायल प्रवासमा मनाउन पाउनु सुखद पक्ष रहेको भन्दै आयोजक संस्थालाई धन्यवाद दिनु भएको थियो ।
सहभागीहरूको सांस्कृतिक कार्यक्रमको प्राथमिकतालाई मध्यनजर गरी औपचारिक कार्यक्रम निकै छोटाइएको थियो ।
उपस्थित सहभागिहरुलाई आयोजक संस्था गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (NRNA) इजरायलले निशुल्क तीजको दर खुवाएको थियो । तीज मेलामा महिला दिदि बहिनिहरु नाच गान सहित उत्साहजनक रुपमा सहभागी भएर रमाएका थिए ।
एन आर एन ए आइसिसि सदस्य विशाल ज्ञवालीले चेलीहरुलाई खुवाउने दरको सम्पूर्ण जिम्मा लिनुभएको थियो । नेपाली संस्कृति, चाडपर्व र विशेष गरी तीजमा माइत गएर दर खाने परम्परालाई स्मरण गर्दै तीज मेलाको अवसरमा इजरायलवासी नेपाली चेलीहरूलाई दर खुवाइएको हो ।
सहभागी दिदीबहिनीहरूलाई दर खुवाउँदै रमाइलो गरी नाच्दै गाउँदै सम्पन्न भएको कार्यक्रम आयोजक संस्था गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् इजरायलका अध्यक्ष तथा कार्यक्रमका सभापति श्रीकृष्ण भण्डारीले इजरायलवासी नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूलाई तीजको शुभकामनाका साथै सहयोगी मनहरु सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन गर्नु भएको थियो ।
कार्यक्रम गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् इजरायलका महासचिव अलि महम्मद मियाले सञ्चालन गर्नु भएको थियो ।
नेपालमा पनि दर खुवाइयो
यसै गरी गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् इजरायलले नेपालमा पनि मातातीर्थ वृद्धाश्रका आमाहरुलाई दर खुवाउने कार्यक्रम राखेको थियो ।। संस्थाकी उपाध्यक्ष कादम्बरी दाना श्रेष्ठको संयोजनमा काठमाडौँको चन्द्रागिरीस्थित मातातीर्थ वृद्धाश्रममा रहेका आमाहरूका लागि तीजको दर खाने कार्यक्रम सम्पन्न गरिएको हो ।
एन आर एन ए एन सि सि इजरायल र इजरायलमा रहेका नेपालीहरुको सहयोगमा आश्रमका आमाहरुलाई दर खुवाइएको थियो । विगतमा इजरायल कर्मभूमि बनाउनु भएका सहयोगी मनहरूले पनि सो कार्यक्रमका लागि सहयोग पुर्याउनु भएको थियो । विशेष गरी खोजराज कटुवाल सरिता कटुवाल , गणेश नेपाल, संगीता नेपाल, रन्जु कार्की, बबिता श्रेष्ठको प्रत्यक्ष उपस्थित भएर दर खुवाउनु भयो ।
कृषि क्रान्ति अभियन्ता NCS कृषि प्रविधि उद्योगका सञ्चालक खोजराज कटुवाल एन आर एन इजरायलका संस्थापक उपाध्यक्ष पनि हुन् ।
मातातीर्थ वृद्धाश्रमका आमाहरूलाई तीजको दर स्वरूप विविध परिकारहरू खुवाउनुका साथै दैनिक उपभोग्य सर सामानहरू समेत हस्तान्तरण गरिएको थियो ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com