इजरायल भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलका प्रधानमन्त्री नेतन्याहुलाई भेटेर भनेका छन्, ‘यो (गाजाको अस्पतालमा आक्रमण) कुनै अर्को टोलीले गराएको जस्तो देखिन्छ।’
बाइडेनले भने – उनी यस घटनाबाट गहिरो दुःखी र आक्रोशित छन्।
अमेरिकी राष्ट्रपतिले भने, “मैले देखेको आधारमा यस्तो लाग्छ कि यो काम अरु कुनै टोलीले गरेको हो, इजरायलले होइन। तर धेरै व्यक्तिहरू छन् जसलाई यो स्पष्ट छैन, त्यसैले हामीले धेरै कुराहरू नियन्त्रण गर्नुपर्दछ।”
अमेरिकी राष्ट्रपति बुधबार इजरायलप्रति आफ्नो समर्थन देखाउन त्यहाँ पुगेका थिए। इजरायल डिफेन्स फोर्सले प्रमाण दिदै भनेको छ कि यो आक्रमण इजरायलले गरेको नभई इस्लामिक समूहले नै गाजाबाट इजरायल क्षेप्यास्त्र प्रहार गर्ने क्रममा दुर्घटना भई गाजाको अस्पतालमा खसेको हो , उसले अन्तर्राष्ट्रिय समुदाय्को सहानुभूति प्राप्त गर्न हमासले आफुहरुमथि आरोप लगाएको जनाएको छ ।
अमेरिकी राष्ट्रपतिको यो भ्रमणका क्रममा उनले जोर्डनमा प्यालेस्टाइनका राष्ट्रपति महमुद अब्बास, इजिप्टका राष्ट्रपति अब्दुल फतह अल सिसी र जोर्डनका राजासँग पनि भेट गर्ने भएका थिए तर अरब राष्ट्रले उनलाई भेट्न अस्वीकार गरेकाले अब उनको भ्रमण इजरायलमा मात्र सीमित रहनेछ।
धेरै देशका नेताहरूले गाजा अस्पतालमा भएको आक्रमणको ‘निन्दा’ गरेका छन् र यसलाई ‘नरसंहार’ भनेका छन्।
प्यालेस्टिनी प्राधिकरणका अध्यक्ष महमूद अब्बासले अल अहली अस्पतालमा भएको आक्रमणलाई ‘भयानक युद्ध नरसंहार’ भनेका छन् । उनले भने, “इजरायलले सबै सीमा नाघेको छ।”
हमासको हमलापछि सुरुदेखि नै प्रतिक्रिया दिन सतर्क रहेको र अमेरिकी मध्यस्थताबाट इजरायलसँग नजिक हुँदै गएको साउदी अरेबियाले पनि इजरायलको कडा निन्दा गरेको छ ।
गाजाको स्वास्थ्य विभागले गाजाको अल अहली अस्पतालमा इजरायलले गरेको हवाई आक्रमणमा करिब ५०० जनाको मृत्यु भएको दाबी गरेको छ ।
हमासका १० सदस्यलाई अमेरिकाले लगायो प्रतिबन्ध
इजरायलमा हमास समूहले अचानक गरेको आक्रमणपछि द्वन्द्व चर्किरहेका बेला अमेरिकी अर्थ मन्त्रालयले बुधबार हमासका एक प्रमुख कमान्डरसहित १० सदस्य, सहयोगी र वित्तीय सहजकर्ताविरुद्ध प्रतिबन्ध लगाउने घोषणा गरेको छ।
गाजा, सुडान, टर्की, अल्जेरिया र कतारलगायत अन्य मुलुकका नागरिकलाई लक्ष्य गरी नयाँ प्रतिबन्ध लगाइएको अमेरिकी अर्थ मन्त्रालयले जनाएको छ।
अमेरिकी अर्थमन्त्री जेनेट येलेनले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘बालबालिकासहित इजरायली नागरिकको निर्मम र अकल्पनीय नरसंहारपछि अमेरिकाले हमासका वित्तदाता र सहजकर्तालाई लक्ष्य गर्न तीव्र र निर्णायक कदम चालिरहेको छ।’
हमासले गत अक्टोबर ७ मा इजरायलमा एक्कासि आक्रमण गर्दा एक हजार ४०० व्यक्तिको मृत्यु भएको थियो।
इजरायलले युद्धको घोषणा गरेपछि र जवाफी हमला सुरु गरेपछि गाजामा करिब तीन हजार मानिसको मृत्यु भएको हमासका स्वास्थ्य अधिकारीहरूले बताएका छन्।
अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार इजरायलको भ्रमण गर्ने क्रममा उक्त प्रतिबन्ध लगाइएको हो । येलेनले भने, “अमेरिकी अर्थमन्त्रालयले आतङ्कवादको वित्तपोषणलाई प्रभावकारी रूपमा अवरोध गरेको लामो इतिहास छ र हामी हमासविरुद्ध हाम्रा उपकरणहरू प्रयोग गर्न हिचकिचाउने छैनौं ।”
उहाँले हमासले ‘ज्यादती’ गर्नका लागि आर्थिक सहयोग जुटाउने क्षमताबाट बञ्चित गर्न वासिङ्टनले आवश्यक सबै कदम चाल्ने बताएका छन् ।
अमेरिकाले यसअघि पनि हमासलाई आतंकवादी सङ्गठन घोषणा गरिसकेको छ ।
अहिलेसम्म इरानी शासन र हमास र हिजबुल्लाहलगायतका समूहद्वारा आतङ्कवाद र आतङ्कवादी वित्तपोषणसँग सम्बन्धित करिब एक हजार व्यक्ति र संस्थाहरूलाई निशाना बनाइएको ट्रेजरीले जनाएको छ ।
नेपाल इजरायल.कम 🇳🇵🇮🇱
Our online portal serves as the heartbeat of the Nepali community in Israel. We don’t just deliver news—we share the stories of lives lived far from home, celebrate contributions, and spotlight the experiences and activities that make our community vibrant and strong..