कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपालको कृषि क्षेत्रको विकासका लागि इजरायलबाट भइरहेको सहयोगलाई निरन्तरता दिन आग्रह गरेका छन्।
सिंहदरबारस्थित मन्त्रालयमा इजरायलका राजदूत स्मुलिक बाससँग बिहीबार भएको भेटमा मन्त्री अधिकारीले दुई देशबीच कृषि क्षेत्रमा सहकार्य गर्न गरिएका सम्झौताहरूलाई नवीकरण गर्ने पहल गर्नुपर्ने बताए।
मन्त्री अधिकारीले नेपाल र इजरायलबीच भएको ‘कमाऊ र सिक’ कार्यक्रमले नेपाली युवाहरूका लागि रोजगारी र सीप सृजना गरेको उल्लेख गर्दै यस कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे। साथै, इजरायलले नेपाली विद्यार्थीहरूलाई उपलब्ध गराउँदै आएको छात्रवृत्तिले नेपालको कृषि क्षेत्रमा ठोस योगदान पुर्याएको पनि उनले बताए।
नेपालको कृषि विकासका लागि इजरायलसँगको सहकार्य अन्तर्गत सेन्टर फर एक्सिलेन्स स्थापना गर्नुपर्ने क्षेत्रहरूको पहिचान भइसकेकाले यस योजनालाई अगाडि बढाउन इजरायली पक्षसँग उनले थप सहयोगको अपेक्षा व्यक्त गरे।
हाल इजरायलमा करिब ५ हजार नेपाली कार्यरत रहेको र उनीहरूको जीवनस्तरमा सुधार आएको उल्लेख गर्दै मन्त्री अधिकारीले आगामी दिनमा दुई देशबीच पारस्परिक हितका लागि बहुपक्षीय सहकार्य अझ बलियो बनाउनु पर्नेमा जोड दिए।
राजदूत बासले नेपालको कृषि क्षेत्रमा प्रविधि हस्तान्तरणमार्फत थप सहकार्य गर्न इजरायल इच्छुक रहेको बताए। उनले यसै वर्ष नेपालले पहिचान गरेका स्थानहरूमा सेन्टर फर एक्सिलेन्स स्थापनाका लागि पहल गरिने प्रतिबद्धता पनि व्यक्त गरे।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com