नेपाल इजरायल डट कम (जेरुसलेम)। यही जेठ ११ शुक्रवार साँझ नेपाली राजदूतावास, तेल अविवद्वारा २५६८औँ बुद्ध जयन्ती तथा अन्तर्राष्ट्रिय वेसाक डेको अवसरमा इजरायलमा एक कार्यक्रमको आयोजना गरियो ।
राजदूत निवास हर्चेलिया पितुआखमा आयोजित उक्त कार्यक्रममा विशिष्ट पाहुनाहरू, इजरायली नागरिकहरू, इजरायलस्थित विभिन्न नेपाली सङ्घ संस्थाका प्रतिनिधिहरू, सञ्चार कर्मीहरू, विद्यार्थीहरू, व्यवसायीहरू तथा इजरायलवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको समुपस्थितमा भव्य रूपमा सम्पन्न भयो ।
नेपालीहरूको उल्लेखनीय उपस्थिति रहेको सो कार्यक्रम इजरायलवासी नेपालीहरू र नेपाली समुदायका विभिन्न सङ्घ संस्थाहरूसँगको सहकार्यमा आयोजना गरिएको थियो । विशिष्ट पाहुना र बौद्ध धर्मगुरुको साथमा महामहिम राजदूत श्री कान्ता रिजालज्युले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गर्नुभएको बुद्ध जयन्ती कार्यक्रमको सुरुवातमा महामहिम राजदूतबाट उपस्थित पाहुनाहरूलाई स्वागत गर्नुहुँदै आजको समयमा शान्तिका अग्रदूत महामानव गौतम बुद्धका मार्ग निर्देशक सिद्धान्तहरूको आवश्यकता एवम् सान्दर्भिकताबारे प्रकाश पार्नु भयो।
वैशाख पूर्णिमामा पर्ने यो दिवस बुद्धको जन्म, बुद्धत्व प्राप्ति तथा महापरिनिर्वाण प्राप्त गरेको दिन र अन्तर्राष्ट्रिय दिवसको रूपमा मनाउन थालिएको वेसाक डे (संस्कृत – वैशाख दिवस) भएकोले यस दिनको विशेष महत्त्व भएकोबारे आगन्तुकहरूले पनि चर्चा र शुभकामना आदान प्रदान गरेका थिए ।
महामहिम राजदूतद्वारा कार्यक्रममा सहभागिता जनाउनुहुने सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनीहरू तथा विदेशी अतिथिहरूमा आभार तथा धन्यवाद व्यक्त गर्दै कार्यक्रम समापन गर्नुभएको थियो ।
तस्विर – नेपाली दूतावास इजरायलको फेसबुक पेज
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com