काठमाण्डाै – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले प्यालेस्टाइनको विद्राेही समूह हमासले अपहरण गरेका विपीन जोशीको सकुशल रिहाइका लागि प्रयास गर्न विश्व समुदायसँग आग्रह गर्नुभएको छ ।
आज बिहान अमेरिकामा भएको असंलग्न आन्दोलन (नाम) को मन्त्रिस्तरीय बैठकमा उहाँले जोशीको रिहाइका लागि विश्व समुदायको ध्यानाकर्षण गराउनुभएको हो । नेपाल विपीन जोशीको रिहाइको प्रतिक्षामा रहेको बताउँदै मन्त्री राणाले त्यसका लागि सहयोग गर्न विश्व समुदायसँग आग्रह गर्नुभयो ।
गएको वर्षको अक्टोबरमा ७ मा हमासले इजरायलमा गरेकाे आतङ्ककारी आक्रमणमा १० जना नेपालीको ज्यान गएको थियो । आक्रमणपछि हमासले जोशीलाई अपहरण गरेको थियो । मन्त्री राणाले विश्वका धेरै ठाउँमा द्वन्द्व बढेको र विश्व नै इतिहासको जटिल मोडमा उभिएको भन्दै यस्तो अवस्थामा विश्वभरका शान्तिप्रेमी एकजुट हुनुपर्ने बताउनुभएको छ ।
परराष्ट्रमन्त्रीले गाजा, रुस र युक्रेनमा जारी द्वन्द्व तत्काल रोकेर समस्याको शान्तिपूर्ण निकास खोज्न आग्रह गर्नुभयो । उहाँले गाजामा नागरिक, पत्रकार, राष्ट्रसङ्घीय कर्मचारी, स्वास्थ्यकर्मी तथा सर्वसाधारणको हत्या, पूर्वाधारमाथिको आक्रमणको निन्दा गर्नुभयो । नेपाल असंलग्न आन्दोलनको प्रतिबद्ध सदस्य भएकाले सबै देशसँग शान्ति, मैत्री र सहअस्तित्वका आधारमा सम्बन्ध विस्तार गर्ने परराष्ट्रमन्त्री राणाको भनाइ छ ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com