काठमाडौं, नेपाल इजरायल डट कम । इजरायलद्वारा गाजा र पश्चिमी क्षेत्रका प्यालेष्टाइनी भू-भागमा निरन्तर सैन्य हस्तक्षेप गरी भइरहेको नरसंहारको विरोधमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले आधिकारिक रूपमा विरोध जनाएको छ। माओवादीले संयुक्त राष्ट्रसंघ लगायत विश्वभरि भइरहेको विरोधलाई समर्थन गर्दै इजरायली सैन्य आक्रमणको विरुद्ध आवाज उठाएको छ।
गाजामा इजरायलले गरेको आक्रमणको विरोध गर्दै सोमबार काठमाडौंस्थित इजरायली दूतावासअगाडि माओवादीसहितका साना वामपन्थी दलहरूले प्रदर्शन गरे। प्यालेस्टाइन -गाजाको मुद्दामा काठमाडौंमा पहिलो पटक दूतावासको अगाडि विरोध प्रदर्शन भएको हो।
माओवादीका महासचिव देव गुरुङले स्वयं विरोध प्रदर्शनको नेतृत्व गर्दै सडकमा उत्रिएका थिए। उनले इजरायलले प्यालेस्टाइन र गाजामा आक्रमण गरी नरसंहार गरिरहेको आरोप लगाउँदै यसले हजारौं निर्दोष बालबालिका र सर्वसाधारणको ज्यान गइरहेको बताएका छन्। माओवादीले इजरायली दूतावासलाई ज्ञापनपत्र पनि बुझाउँदै आक्रमण रोक्न माग गरेको छ।
विरोध प्रदर्शनको क्रममा इजरायललाई मानवताविरुद्ध रहेको भन्दै तत्काल युद्ध बन्द गर्न र निर्दोष जनतामाथि भइरहेको आक्रमण रोक्न माग गरिएको थियो। माओवादी महासचिव गुरुङले इजरायलविरुद्ध सबैलाई एकताबद्ध हुनुपर्ने आवश्यकता रहेको बताए। उनले सबै राजनीतिक दलहरू र नागरिक समाजले यस्तो विरोध प्रदर्शन गर्दै इजरायलमाथि दबाब दिनुपर्ने बताए।
माओवादीले आफ्ना सबै प्रादेशिक समिति तथा निकायलाई पनि इजरायलको विरोधमा प्रदर्शन गर्न निर्देशनसहित पत्र पठाएको छ। गुरुङले विरोध प्रदर्शनका क्रममा माओवादी पार्टीले यो अभियानलाई संस्थागत रूपमा अघि बढाउने र इजरायलले गरिरहेको नरसंहारको विरोधमा देशभर जनचेतना फैलाउने बताए।
महासचिव देव गुरुङले विरोध अभियानमा सहभागिता जनाउन प्रदेश समितिलाई परिपत्र पठाएको जानकारी प्राप्त भएको छ। माओवादीको तर्फबाट प्यालेष्टाइनी जनतामाथिको इजरायली आक्रमणको विरोध अभियान आवश्यक रहेको निष्कर्ष निकालेको छ।
इजरायली आक्रमणको विरोधमा राजनीतिक दलहरू र नागरिक समाजका अगुवाहरूको पहलमा ‘प्यालेष्टाइनीहरूमाथि इजरायली आक्रमणविरुद्ध संयुक्त अभियान, नेपाल’ गठन भएको छ। यस अभियानमा माओवादी महासचिव देव गुरुङ पनि संलग्न छन्। पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्देशन अनुसार माओवादी केन्द्रले यस अभियानमा सक्रियता देखाउँदै विभिन्न कार्यक्रमहरू आयोजना गर्ने जनाएको छ।
अभियानले मंसिर ८ गते माइतीघर मण्डलामा बृहद् विरोध प्रदर्शनको आयोजना गरी नयाँ बानेश्वरसम्म र्याली गर्दै विरोध सभा गर्ने योजना रहेको छ। यस क्रममा फोटो तथा भिडियो प्रदर्शनीको माध्यमबाट जनचेतना फैलाउने पनि निर्णय भएको छ।
यस संयुक्त अभियानको पहिलो बैठकले नेपाल सरकार र अमेरिकी दूतावासलाई ज्ञापनपत्र बुझाउने, विभिन्न सहरी केन्द्रमा विरोध प्रदर्शन गर्ने जस्ता कार्यहरू गर्ने निर्णय गरेको छ।
माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले प्यालेष्टाइनी क्षेत्रमा इजरायली आक्रमणले मानवीय संकट उत्पन्न गरिरहेको र त्यसको विरोध आवश्यक रहेको बताएका छन्। उनले हमासद्वारा इजरायलमा भएको आक्रमणको निन्दा गरेपनि वर्तमान परिस्थितिमा गाजामा इजरायली हस्तक्षेपको समेत विरोध आवश्यक रहेको बताए।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com