यसै हप्ता मार्च ८ तारीख विश्वव्यापी रुपमा ११४ औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाइदैछ । संयुक्त राष्ट्र सङ्घीय महिला कार्यक्रम (यूएन वुमन) ले अक्टोबर ७ तारिखमा प्यालेस्टिनी इस्लामिक लडाकु समूह हमासले इजरायलमा गरेको आक्रमणको बदलामा गाजामा इजरायली सेनाले गरिरहेको आक्रमणमा झन्डै नौ हजार महिलाले ज्यान गुमाउनु परेको तथ्यांक सार्वजनिक गरेको छ।
धेरै महिलाहरू भग्नावशेषमुनि परेको जानकारी आएकोले यो तथ्याङ्क कम भएको पनि यूएन वुमनको प्रतिवेदनमा उल्लेख रहेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । गाजामा युद्धका कारण दैनिक औसतमा ६३ जना महिलाले ज्यान गुमाउने गरेका छन् । युद्धले गर्दा प्यालेस्टिनी महिलाहरूलाई आफ्ना बालबालिका जोगाउन निकै समस्या भएको पनि प्रतिवेदनमा भनिएको छ ।
हरेक पाँचमध्ये चारभन्दा बढी वा ८४ प्रतिशत महिलाले उनीहरूको परिवारले द्वन्द्व शुरु हुनुअघि प्रयोग गरेको आधा वा कम खाना खाने गरेको पाइएको छ । आफ्ना छोराछोरीलाई सीमित खाना पुर्याउनका लागि आफूहरू कैयौँ दिनदेखि सामान्य एक छाकमा बाँचिरहेको महिलाहरूले बताएका छन् ।
गाजाको झन्डै २३ लाख जनसङ्ख्याले केही हप्ताभित्रै खाद्य असुरक्षाको गम्भीर स्तरको सामना गर्नुपर्ने संयुक्त राष्ट्र सङ्घले जनाएको छ ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com