काठमाडौँ, ७ साउन । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीको नेपालका लागि इजरायली राजदूत हनान गोदारसँग शिष्टाचार भेट भएको छ ।
मन्त्री शरतसिंह भण्डारीले नेपाल–इजरायलबीचको श्रम सम्बन्धका बारेमा सन्तोष व्यक्त गर्दै इजरायल–प्यालेष्टाइन द्वन्द्वमा हराइरहेका नेपाली विपिन जोशीको खोजतलास एवं वास्तविक अवस्थाबारे जानकारी र सकुशल फिर्ता गराउने विषयमा थप पहल लिन अनुरोध गरेका छन् ।
विपिन जोशीलाई लामो समय देखि हमास लडाकु समूहले अपहरण गरी बन्धक बनाएर राखेको छ । इजरायलमा गत बर्ष अक्टोबर ७ मा भएको आतंकवादी हमलामा सो समूहले कैयौं इजरायली तथा विदेशी सहित १० नेपाली विद्यार्थीको हत्या र विपिन जोशीको अपहरण गरेको थियो
द्विपक्षिय भेटघाटका क्रममा इजरायलले नेपाली श्रमिकको सङ्ख्या वृद्धि गर्न सहमत भएको छ । हाल छनोटका चरणमा रहेका पाँच सय जना मुख्य उम्मेदवार र तीन सय वैकल्पिक उम्मेदवार गरी कूल आठ सय नेपाली श्रमिक इजरायल लैजाने भनिएकामा सो सङ्ख्या बढाएर एक हजार मुख्य उम्मेदवार र एक हजार वैकल्पिक उम्मेदवारगरी कूल दुई हजारसम्म नेपाली लैजान सकिनेगरी सहमति भएको मन्त्रालयका प्रवक्ता गोविन्दप्रसाद रिजालले जानकारी दिए ।
भेटमा द्विपक्षीय श्रम सम्बन्धमा विविध पक्षका साथै ‘जिटुजी’ प्रक्रियाअन्तर्गत केयरगिभरका रुपमा नेपाली श्रमिक इजरायल पठाउने सिलसिलामा भइरहेको छनोट प्रक्रियाबारे समेत छलफल भएको थियो । आगामी दिनमा कृषिलगायत अन्य क्षेत्रमा समेत नेपाली श्रमिक इजरायल लैजान सकिनेबारेमा समेत कुराकानी भएको प्रवक्ता रिजालले जानकारी दिए ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com