हमासको शासन रहेको गाजा स्ट्रिपमा गत अक्टोबर ७ देखि इजरायलले लगातार हवाई हमला गरिरहेको छ । हमासले पाँच हजार रकेट इजरायलतर्फ आक्रमण गर्दै आफ्ना लडाकुलाई इजरायलभित्र पठाएको थियो ।
हमासको आक्रमणमा इजरायलमा १४ सयले ज्यान गुमाएका छन् भने इजरायलको जवाफी हमलामा गाजामा झन्डै ३ हजारले ज्यान गुमाएका छन् । इजरायलको हवाई आक्रमण आक्रामक देखिन्छ । यस्तो अवस्थामा मंगलबार राति गाजाको अहली अरब सिटी अस्पतालमा रकेट आक्रमण भएको छ । हमासको स्वास्थ्य मन्त्रालयले इजरायलले हानेको रकेटले अस्पतालमा रहेका पाँच सय प्यालेस्टाइनी नागरिकको मृत्यु भएको जनाएको छ, भने इजरायलले आरोप अस्विकीर गरेको छ ।
इजरायलले एक विज्ञप्ति जारी गर्दै आफूहरूले अस्पताललाई कहिल्यै आक्रमण नगरेको प्रतिक्रिया दिएको छ । यस्तोमा अमेरिकाले पनि गाजाको अस्पतालमा इजरायलले आक्रमण गर्न नसक्ने बताएको छ । अस्पतालमा आक्रमण भएपछि यतिबेला विश्वभर इजरायलको विरोध सुरु भएको छ ।
संयुक्त राष्ट्रसंघले पनि अस्पतालमा भएको आक्रमणको निन्दा गरेको छ ।
आफूमाथि आरोप लागेपछि इजरायलको सरकारले गाजास्थित अस्पतालमा भएको आक्रमणमा प्यालेस्टाइनकै इस्लामिक जिहाद संगठनको हात भएको आरोप लगाएको छ । तर, हमासले भने गाजामा दैनिक हवाई हमला गरिरहेको इजरायलले नै अस्पतालमा हमला गरेको बताइरहेको छ ।
प्यालेस्टाइनको सरकारले इजरायलले अस्पतालमा आक्रमण गरेर अपराधको पराकाष्ठा नाघेको टिप्पणी गरेको छ । इजरायलले भने इस्लामिक जिहादले अस्पतालको छेउबाट इजरायलतर्फ रकेट हान्दा त्यो झुक्किएर अस्पतालमा खसेको बताएको छ । सन् २०२२ मा पनि इस्लामिक जिहादले इजरायलतर्फ रकेट हान्दा त्यो गाजामै खसेको थियो, त्यसबेला १६ प्यालेस्टाइनीले ज्यान गुमाएको इजरायल बताउँछ ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com