इजरायलले हमासविरुद्ध व्यापक हवाई तथा स्थल आक्रमण गरिरहँदा हमासले आफ्नो माग पूरा नभएको खण्डमा अपहरणमा परेका सबै बन्धकहरूको ज्यान लिने धम्की दिएको छ ।
गाजामा मानवीय सहायता बढाउनुपर्ने र प्यालेस्टाइनी कैदीहरूलाई छाड्नुपर्ने हमासको माग छ । यदि माग पूरा नभए बन्धकहरू जिउँदै घर नफर्किने हमासको चेतावनी छ । राष्ट्रसंघले पेस गरेको गाजामा युद्धविराम गर्नुपर्छ भन्ने प्रस्ताव अमेरिकाले भिटो प्रयोग गर्दै अस्वीकार गरेपछि हमासको यस्तो धम्की आएको हो ।
गत नोभेम्बरदेखि डिसेम्बर १ सम्म चलेको अस्थायी युद्धविराममा २४० प्यालेस्टाइनी कैदीको बदलामा हमासले १०५ बन्धकलाई छाडेको थियो । अझै १३७ बन्धकहरू हमासको नियन्त्रणमा छन् ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयका अनुसार हिरासतमा रहेका १३७ बन्धकहरूमध्ये पनि २० जनाको भने मृत्यु भइसकेको छ । ती कुन–कुन देशका नागरिकहरू हुन् भनेरचाहिँ केही खुलाइएको छैन ।
हमासले इजरायलकै हवाई कारबाहीहरूमा बन्धकहरू मारिएको दाबी गर्ने गर्दछ । खबरअनुसार अक्टोबर ७ यता जारी युद्धमा गाजामा झण्डै १८ हजारले ज्यान गुमाएका छन्, जसमध्ये ११ हजार बालबालिका, महिला र वृद्धवृद्धा भएको बताइएको छ । इजरायलतर्फ भने १२ सयले ज्यान गुमाएका छन् ।
जारी युद्धमा हमासको सुरुङको सञ्जालले इजरायली सेनालाई चुनौती थपिदिएको विश्लेषण हुन थालेको छ । शक्तिशाली हतियार सम्पन्न इजरायलले हमासलाई सोचेअनुसार आक्रमण गर्न सकिरहेको छैन ।
यस्तोमा हमासलाई समाप्त गर्ने कसम खाएका नेतान्याहुले हमासको ५०० किलोमिटर लामो सुरुङको सञ्जालमा आफ्ना सेनालाई पठाउने कि नपठाउने भनेर निर्णय लिने बेला आएको छ ।
पूर्वब्रिटिस सैन्य खुफिया अधिकारी फिलिप इन्ग्रामका अनुसार इजरायली सेनाले सुरुङभित्र युद्ध गर्न जाँदा कैयौँ कठिनाइहरू भोग्नुपर्नेछ । इजरायललाई हमासको सुरुङ सञ्जालबारे थाहा नभएकाले त्यहाँ राखिएका धरापमा इजरायली सैनिक सहजै पर्न सक्छन् र उनीहरूले ज्यान गुमाउन सक्छन् ।
हमासले गरेको जटिल तयारी र सुरुङ सञ्जालमा उनीहरूको ज्ञानले इजरायली सेनालाई जोखिम निम्त्याउन सक्छ, यस कारण सुरुङ युद्धमा हमासले रणनीतिक फाइदा लिन सक्छ ।
यद्यपि नेतान्याहुको ‘हमासलाई नष्ट गर्ने’ प्रतिबद्धताका कारण पनि सुरुङहरूमा द्वन्द्वको सम्भावनालाई विज्ञहरू स्वीकार गर्छन् । नेतान्याहुमाथि हमासको आक्रमण रोक्न नसकेको, भ्रष्टाचार गरेकोलगायतका आरोपहरू लागि रहँदा उनीमाथि सत्तामै टिकिरहनका लागि हमासविरुद्ध जित निकालेर चाँडो परिणाम दिनुपर्ने दबाब छ ।
विभिन्न रिपोर्टहरूका अनुसार विषाक्त ग्यासको प्रयोग गरेर, साथै सुरुङहरूमा समुद्री पानी भरेर पनि इजरायलले हमासलाई बाहिर निकाल्ने प्रयास गर्न सक्छ ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com