काठमाडौँ । गत अक्टोबर ७ तारिख प्यालेस्टिनी चरमपन्थी समूह हमासले गरेको अप्रत्याशित आक्रमणपछि उत्पन्न त्रासका कारण ‘लर्न एन्ड अर्न’ कार्यक्रमबाट फर्किएका नेपाली विद्यार्थीलाई पुन रोजगारीका लागि लैजाने इजरायलले प्रस्ताव गरेको छ ।
नेपाली विद्यार्थीहरु कृषि अध्ययन र रोजगार “लर्न एण्ड अर्न” कार्यक्रम अन्तर्गत इजरायलमै रहँदा गाजास्थित हमास समूहले आक्रमण गरेको थियो । आक्रमणबाट १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो । भने ४ जना घाइते भएका छन् । आक्रमणपछि उक्त कार्यक्रमका लागि इजरायल पुगेका विभिन्न विश्वविद्यालयका २५८ जना विद्यार्थी स्थानिय निकाय तथा नेपाल सरकार हारगुहार गर्दै प्लेन चार्टर गरेर नेपाल फर्किएका थिए ।
फर्किएकाहरू सबैलाई श्रम स्वीकृति नै लिएर इजरायलमा रोजगारीका लागि पुन लैजाने प्रस्ताव इजरायल सरकारले गरेको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवल प्रसाद भण्डारीले इजरायलबाट उनीहरू अब अर्न एन्ड लर्न कार्यक्रमका लागि नभई श्रम स्वीकृति नै लिएर रोजगारीको लागि लैजाने प्रस्ताव आएको बताए ।
‘अर्न एन्ड अर्न कार्यक्रमबाट फर्किएका विद्यार्थीलाई अफिसियल्ली नै रोजगारीमा लैजाने प्रस्ताव आएको छ । त्यसमा सरकारले निर्णय गरिसकेको छैन । छलफल चलिरहेको छ,’ सचिव भण्डारीले भने ।
इजरायलका विभिन्न कृषि फार्महरू सिक्ने र कमाउने कार्यक्रम अन्तर्गत नेपालबाट कृषि विषय पढ्ने विद्यार्थीहरू इजरायल जाँदै आएका छन् । उक्त आक्रमणपछि भने सबै विद्यार्थी नेपाल फर्किएका थिए ।
उक्त कार्यक्रमका लागि सुदूरपश्चिम विश्वविद्यालयबाट ११ महिने ट्रेनिको रूपमा ४९ जना कृषि विषय पढ्ने विद्यार्थीलाई पठाएको थियो । त्यस्तै कृषि तथा वन विश्वविद्यालय रामपुर चितवनबाट ११९ जना विद्यार्थी र त्रिभुवन विश्वविद्यालयबाट ९७ जना गरी २६५ जना विद्यार्थी इजरायल पुगेका थिए । उनीहरूमध्ये सुदूरपश्चिम विश्वविद्यालयका १० जना विद्यार्थी मारिएका थिए ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com