काठमाडौं । हमास प्यालेस्टिनी समूहहरूले थप बन्धकहरूलाई रिहा गर्ने विचार अस्वीकार गरेको बताएको छ। हमासले इजरायल युद्ध पूर्ण रुपमा अन्त्य गर्न सहमत नभएसम्म कुनै पनि बन्धकहरूलाई रिहा नगर्ने बताएको छ।
टेलिग्राममा पोष्ट गरिएको अरबी भाषामा एक विज्ञप्तिमा हमासले भन्यो, “प्यालेस्टाइनका जनताले आक्रामकता समाप्त नभएसम्म बन्धक वा बन्दीहरूको आदानप्रदानको बारेमा थप वार्ता सुरु नगर्ने निर्णय गरेका छन्।”
यद्यपि, हमासले कुन समूहलाई संकेत गरिरहेको छ भन्ने अझै स्पष्ट भएको छैन। इस्लामिक जिहाद गाजा पट्टीको एउटा सानो समूह हो र तिनीहरूले पनि इजरायलीहरूलाई बन्धक बनाएका छन्।
इजिप्टको कायरोमा युद्धविरामका लागि वार्ता भइरहेको छ । बुधबार भएको वार्ताले कुनै नतिजा निस्कन सकेको छैन । हमासले केही दिनको युद्धविराममा सहमत नहुने बताएको छ ।
नोभेम्बरको अन्तमा छ दिनको युद्धविरामको क्रममा, हमासले प्यालेस्टिनी कैदीहरूसँगको आदानप्रदानमा १०५ बन्धकहरूलाई रिहा गरेको थियो।
गाजामा अझै पनि १२० जना इजरायली बन्धक रहेको विश्वास गरिन्छ। यसैबीच, विश्व स्वास्थ्य संगठनले इन्धन सकिएको कारण उत्तरी गाजामा अहिले कुनै अस्पतालले काम नगरेको जनाएको छ।
गाजामा हमास विरुद्ध अभियान चलाउँदै आएको इजरायली सेनाले गाजा सहरमा हमास नेताहरूसँग जोडिएको अर्को सुरुङको सञ्जाल फेला पारेको बताएको छ ।
इजरायलको आक्रमणबाट गाजामा हालसम्म २० हजार मानिसको मृत्यु भइसकेको छ ।
अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरी २४० जनालाई बन्धक बनाएको थियो । प्यालेस्टिनी लडाकु समूह हमासद्वारा अप्रत्यासित भएको यस आक्रमणमा १२०० भन्दा बढी इजरायली मारिएका थिए। यस आक्रमणमा १० नेपाली नागरिकको हत्या भएको थियो भने एकजना नेपाली हमासको कब्जामा रहेका छन । युद्धविरामको विरुद्धमा आएको हमासको यस्तो निर्णयसँगै अपहरणमा परेका नेपाली नागरिक विपिन जोशी लगायत थप बन्धकहरु रिहा हुने अनिश्चितता बढेर गएको छ ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com