काठमाडौं । गाजामा हमासलाई निमिट्यान्न पार्ने लक्ष्यसहित आक्रमण गरिरहेको इजरायलको लागि यमनका हुथी विद्रोही ठूलो अवरोधका रुपमा खडा भएका छन । इजरायल प्यालेस्टाइन युद्ध भएदेखि नै लालसागरमा इजरायलसँग सम्बन्धित जहाजहरुमाथि आक्रमण गर्दै आएको यो आतंकवादी समूह इरानद्वारा प्रायोजित शक्ति हो, जो यमनमा सक्रिय रहेको छ ।
यमनका हुथी विद्रोहीहरूले इजरायलसँग सम्भावित युद्धका लागि २० हजार लडाकुहरूलाई तालिम दिएको बताइएको छ । लडाकुहरू हुथी कमान्डर अब्दुल मलिकअल–हुथीको आदेशमा गाजा जान तयार रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
यमनी समाचार एजेन्सी साबाले २० हजार लडाकुहरूको प्रशिक्षण पूरा भएको अवसरमा उत्तर पश्चिमी यमनी प्रान्त हज्जाहमा परेड पनि आयोजना गरिएको बताएको छ ।
यस क्रममा हुथी लडाकुहरूले आफ्नो हतियार र सैन्य शक्ति प्रदर्शन गरेका थिए । हुथी इरानको नियन्त्रणमा रहेको यमनमा सक्रिय शिया आतङ्कवादी समूह हो ।
हुथी लडाकुहरूले इरानबाट हतियार, तालिम र पैसा पाउँछन् । हुथी विद्रोहीहरूले गाजापट्टीमा इजरायली आक्रमण नरोकेसम्म र मानवीय सहायता नपुगेसम्म आफ्नो आक्रमण नरोकिने दाबी गरेका छन् ।
हुथीले अमेरिकालाई यमनमा आक्रमण नगर्न चेतावनी पनि दिएको छ । हुथी नेता अब्दुल मलिक अलहुथीले अमेरिकाले यमन विरुद्ध कुनै प्रकारको आक्रामक कारबाही गरेमा ठुलो मूल्य चुकाउनु पर्ने बताएका छन् ।
उनले अमेरिकालाई भियतनाम युद्धमा जस्तो परिणाम भोग्नुपर्ने चेतावनी पनि दिएका छन् ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com