इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आफ्ना रक्षामन्त्री याओव ग्यालेन्टलाई विश्वास गर्ने वातावरण नदेखिएको कारण देखाउँदै पदबाट बर्खास्त गरेका छन् ।
टाइम्स अफ इजरायलका अनुसार लिकुड पार्टीका ग्यालेन्टको स्थानमा विदेशमन्त्री इजरायल काट्जलाई ल्याइने भएको छ । काट्जको स्थानमा गिदोन सारलाई विदेशमन्त्रीको जिम्मेवारी दिने तयारी गरिएको छ ।
टाइम्स अफ इजरायलले प्रधानमन्त्री कार्यालयलाई उद्धृत गर्दै नेतान्याहूले ग्यालन्टलाई रक्षा मन्त्रीको रूपमा पत्र प्राप्त भएको ४८ घण्टाभित्र पद समाप्त हुने जानकारी दिएको जनाएको छ ।
युद्धको सुरुवाती समयमा विश्वाससहितका कामहरू भएको भए पनि पछिल्लो समयमा विश्वसनियता घट्दै गएको जनाउँदै नेतन्याहूले बर्खास्तको विज्ञप्ति जारी गरेको टाइम्स अफ इजरायलले जनाएको छ । रक्षामन्त्रीसँगको विश्वासको सङ्कटले सैन्य अभियानलाई उचित मार्गदर्शन र सक्षम बनाउन नसकिने बताउँदै नेतान्याहूले यस्तो निर्णय गरेको बताएका छन् ।
बर्खास्त भएपछि, ग्यालेन्टले इजरायलको सुरक्षाका लागि सक्रिय रहने बाचा गर्दै सामाजिक सञ्जाल एक्सको पोस्टमा इजरायलको सुरक्षा सधैं आफ्नो जीवनको लक्ष्य हुने र यसका लागि सधैँ लागिरहने बताएका छन् । ग्यालेन्टले ‘हमासद्वारा अपहरण गरिएका इजरायली ‘छोरा–छोरी’लाई फिर्ता ल्याउने नैतिक प्रतिबद्धतामा पनि जोड दिएका छन् । उनीहरू जीवित रहँदै सकेसम्म चाँडो उद्धार गर्नुपर्ने जनाउदै उनले विज्ञप्ति जारी गरेका छन् ।
बन्धकहरूलाई फिर्ता ल्याउन सम्भव रहेको बताउँदै उनले त्यसको लागि उचित सम्झौता आवश्यक रहेको बताएका छन् । मृत्यु भइसकेका बन्धकहरूलाई फिर्ता ल्याउन नसके पनि बाँकी बन्धकका लागि आवश्यक पहल गर्न जरूरी रहेको ग्यालेन्टले उल्लेख गरेका छन् ।
टाइम्स अफ इजरायलका अनुसार दर्जनौँ दक्षिणी इजरायली समुदायमा भएका आक्रमणमा ज्यान गुमाएका करिब एक हजार २०० मानिसको साथै २५१ जनालाई बन्धक बनाएको अक्टोबर–७ हमास आक्रमणको सरकारी अनुसन्धानका लागि पनि उनले आह्वान गरेका छन् ।
रक्षामन्त्रीलाई बर्खास्त गरेपछि इजरायलमा प्रदर्शन
इजरायलमा विरोध प्रदर्शन शुरु भएको छ । प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले रक्षामन्त्री योआभ गलन्टलाई बर्खास्त गरेपछि सर्वसाधारण सडकमा उत्रिएका हुन् ।
विश्वासको संकटका कारण आफूले यो निर्णय गरेको नेतन्याहुले बताएका छन् । हालैका महीनामा गलन्टप्रति आफ्नो विश्वास घट्तै गइरहेको उनको भनाइ थियो ।
गलन्टको ठाउँमा विदेशमन्त्री इजरायल काट्जलाई उनले रक्षामन्त्री बनाएका छन् । आफू बर्खास्तमा परेलगत्तै गलन्टले सामाजिक सञ्जालमा इजरायलको सुरक्षा सधैं आफ्नो जीवनको मिशन रहेको र रहने बताएका थिए । लामेसमय देखि नेतन्याहु र गलन्टले साथै काम गरेका थिए । कयौं परिस्थितिमा यी दुईले मिलेर निर्णायक कामहरू पनि गरे ।
तर गएको एक वर्षयता इजरायलको युद्ध रणनीतिबारे यी दुुईबीच मतभेद चुलिँदै गइरहेको थियो ।
हमासको कब्जामा रहेका बन्दी रिहाईलाई प्राथमिकतामा गाजामा युद्ध जारी राख्नेभन्दा माथि राख्नु पर्ने गलन्टको भनाइ थियो । तर नेतन्याहु यसको विपक्षमा थिए । ग्यालाण्टको बर्खास्ती संगै युद्धविराम र बन्धक रिहाइमा अरु थप अन्योलता थपिन सक्ने अनुमान गरिएको छ ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com