इजरायली सुरक्षा बल (IDF)ले एक प्रेस नोट जारी गर्दै चर्चित् समाचार संस्था अल-जजीराका लागि सक्रिय रूपमा काम गरिरहेका छ जना पत्रकारहरू हमास र प्यालेस्टिनी इस्लामिक जिहाद (PIJ) का सदस्यहरु भएको तथ्य सार्वजनिक गरेको छ । IDF का अनुसार उल्लेखित पत्रकारहरू हमासको सैन्य शाखाको हिस्सा हुन्, जसले इजरायलविरुद्ध हमासको प्रचार युद्धको अग्रभागको रूपमा रहेर काम गरिरहेका छन्।
गाजा पट्टीमा भएको सैनिक अपरेसनको क्रममा प्राप्त गरिएको गुप्तचर जानकारीका आधारमा, उनीहरूले गाजामा आधारित रहेर पत्रकारिता गर्दै आएका छ जना पत्रकारहरु अनस अल-शरिफ, अलाअ सलामा, होसाम शबात, अशरफ सराज, इस्माइल अबु अमर, र तलाल अरुकी हमास वा पीआईजेको सैन्य शाखासँग सम्बन्धित रहेको प्रमाण प्राप्त गरेका छन ।
अल-जजीराले भने बुधबार नै एक्समा पोस्ट गर्दै यी दाबीहरूलाई “आधारहीन” र “झूटा” भनेको छ। समाचार संस्थाले इजरायलले थप पत्रकारहरूलाई मार्ने बहाना खोजिरहेको आरोप लगाएको छ।
IDF ले यस खुलासालाई प्रमाणित गर्ने केही कागजातहरूमा कर्मचारी तालिका, आतंकवादी तालिम पाठ्यक्रमहरू, फोनबुकहरू, र आतंकवादीहरूको लागि तलब कागजातहरू समावेश रहेको बताएको छ।
IDF का अनुसार यस तथ्यले स्पष्ट रूपमा प्रमाणित गर्दछ कि उल्लेखित पत्रकारहरू गाजा पट्टीका आतंकवादी संगठनहरूको सैन्य आतंकवादी गतिबिधि सञ्चालकका रूपमा कार्य गर्छन् ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com