एजेन्सी– इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले गाजामा भएको इजरायली सैन्य कारबाहीमा हमासका नेता याह्या सिनवारको मृत्यु भए पनि हमास जीवित रहेको शनिबार घोषण गरेका छन्।
सिनवारको मृत्यु पीडादायी भए तापनि सिनवारको शहादतसँगै हमासको अन्त्य नहुने खामेनीले बताएका छन्। उनले विज्ञप्ति जारी गर्दै प्यालेस्टिनी इस्लामवादी आन्दोलन र हमास अझै जीवित रहने जनाएका हुन्।
खमेनीले सिनवारको बारेमा उल्लेख गर्दै भने “सिनवार “प्रतिरोध र सङ्घर्षको चम्किलो व्यक्तित्व हुन्, जो क्रूर र आक्रामक शत्रुविरुद्ध अटुट दृढ संकल्पका साथ उभिन्थे।”
सन् २०२३ अक्टोबर–७ को आक्रमणको मुख्य नाइकेको रुपमा सिनवारलाइ चित्रित गर्दै सिनवारको मृत्युले युद्ध भड्कीएको भए पनि निरन्तर अघि बढ्ने बताएका छन्।
उनले सन् २०२३ अक्टोबर–७ बाट सुरु भएको युद्धमा सिनवार यस क्षेत्रको इतिहासमा उच्च विरासतको साथ उल्लेख्य योगदान गरी सम्मान र गर्वका साथ शहीद भएको बताएका छन्।
इरानले आफ्नो कट्टर शत्रु इजरायललाई मान्यता नदिने बताउँदै सन् १९७९ को इस्लामिक क्रान्तिपछि प्यालेस्टिनी उद्देश्यका लागि आफ्नो समर्थनलाई आफ्नो विदेश नीतिको आधार बनाएको समेत उनले उल्लेख गरेका छन्।
यस अघि हमासले पनि आफ्ना नेता मारिएको पुष्टि गर्दै उनको मृत्युले हमास अझ बलियो भएर उठ्ने प्रतिबद्धता जनाएका थिए । इजरायलले सिनवारको मृत्युको घोषणा गरेको एक दिनपछि हमासले पुष्टि गरेको थियो ।
‘हामी महान नेता, शहिद भाइ, याह्या सिनवार, अबु इब्राहिमको शोक मनाउँछौँ,’ कतारस्थित हमासका अधिकारी खलिल अल–हय्याले अल जजिराद्वारा प्रसारित रेकर्ड गरिएको भिडियो वक्तव्यमा भनेका छन् ।
सन् २०२३ अक्टोबर ७ को आक्रमणपछि सिनवार इजरायलको सबैभन्दा खोजिएको व्यक्ति बन्नुभएको थियो । हमासको आक्रमण इजरायली इतिहासमा सबैभन्दा घातक थियो ।
वक्तव्यमा हय्याले गाजामा युद्ध समाप्त नभएसम्म हमासले इजरायलबाट कब्जा गरेका बन्धकहरूलाई रिहा नगर्ने बताए । ‘गाजामा हाम्रा मानिसहरू विरुद्धको आक्रमण नरोकिएसम्म बन्धकहरू फर्कने छैनन्,’ उनले इजरायललाई गाजाबाट फिर्ता हुन र इजरायली जेलमा रहेका प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्न आह्वान गर्दै भने ।
हमासले सिनवारको हत्याबाट अझ धेरै शक्ति लिने भन्दै हय्याले व्यक्तिको हत्या गरेर विचारको अन्त्य नहुने प्रष्ट पारे । आफ्ना माग पुरा नभएसम्म बन्धकहरु फिर्ता गर्ने, युद्धविराम गर्ने वा आत्म समर्पणजस्ता कुनै पनि कुरा नगर्ने दृढता हमासको रहेको छ ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com