नेपालइजरायल । जेरुसेलम – तीन प्यालेस्टिनी आतंकवादीले जेरुसेलमको माले आदुमिममा सांघातिक आक्रमण गरेका छन । उनीहरुले जेरुसेलम र वेस्ट ब्यांकको सिमानामा रहेको इजरायली चेक प्वाइन्टमा बन्दुक चलाउदा सो घटना भएको हो ।
प्रहरीका अनुसार तीन आतंककारीले बुधबार बिहान स्वचालित हतियार सहित रुट १ राजमार्गबाट जेरुसेलमतर्फ प्रवेश गरी अन्धाधुन्द गोली चलाएका थिए । सो आक्रमणमा परी मतान अल्मालिया नाम गरेका २० बर्षीयको युवकको घटनास्थलमै मृत्यु भएको छ भने ११ अन्य सर्वसाधारण घाइते भएका छन । घाइतेहरुलाई तत्काल जेरुसेलमका अस्पतालहरुमा लगिएको छ । मागेन डाविड एम्बुलेन्स सेवाले जनाएअनुसार घाइतेमध्ये एक २३ बर्षीय गर्भवति महिलालाई पनि गोली लागेको छ र उनको अत्यन्त गम्भीर अवस्थामा उपचार भइरहेको छ ।
सुरक्षा बलले तत्कालै गरेको कार्वाहीमा आक्रमणकारी मध्ये २ जनाको मृत्यु भएको छ भने घटनास्थलबाट भाग्न सफल तेश्रो आक्रमणकारीलाई सुरक्षाकर्मीले खोजी गरेर नियन्त्रणमा लिइएको बताइको छ, उनको अवस्था बारे जानकारी दिइएको छैन ।
शिन बेत सुरक्षा एजेंसीका अनुसार आतंककारीहरु मुहम्मद ज्वाहरा २६, काथम ज्वाहारा ३१, अहमद अल वाश ३१ रहेका छन । हमासले इजरायलमा गरेको अक्टोबर ७ को आक्रमण पश्चात इजरायली सुरक्षा बलले प्यालेस्टाइन अधिनस्थ पश्चिम किनारमा छापा मार्ने कार्यमा तीव्रता दिएका छन भने इजरायलभित्र पनि सुरक्षा व्यवस्थामा कडाइ गरेका छन ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com